एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ७ :
गृहमन्त्री रमेश लेखकले जिल्ला प्रशासन कार्यालय धनुषाको निर्माण हुन लागेको भवन शिलान्यास गरेका छन् ।
अहिलेको प्रशासनिक भवन पुरानो तथा जिर्ण हुन थालेपछि नयाँ प्रशासनिक भवन निर्माणका लागि गृह मन्त्रालयले ७ करोड ८७ लाख ९४ हजार ५ सय ६६ रुपैयाँमा बजेट विनियोजन गरेको थियो । सो भवन निर्माणका लागि सावित्री निर्माण सेवाले ५ करोड ४७ लाख २९ हजार ४४७मा ठेक्का सम्झौता गरेको छ ।
१६ हजार १६३ वर्गफिटको उक्त तीनतल्ले भवन २०८३ असार २८ गतेभित्र निर्माण गरिसक्नुपर्ने सम्झौता भएको छ । संघीय आयोजना कार्यान्वयन इकाई कार्यालयको रेखदेखमा बन्ने भवनको मोडेल आरसीसी फ्रेमको हुने जनाइएको छ ।
यता शिलान्यासपछि गृहमन्त्री लेखकले निर्माण कम्पनी ठेक्का सम्झौता अवधी भित्रै काम गर्न निर्देशन समेत दिएका छन् ।