एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ६ :
महोत्तरीको रमौलमा एक एक नवविवाहिता महिलाको शंकास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका–८ रमौलकी २० वर्षीया रिना देवी राय रहेकी छन् । रिनाको मंगबार मध्य राति १ बजे मृत्यु भएको हो ।
माइतपक्ष भने दाइजोको निहुमा पति रोहनकुमार राउतसहित ससुरा पक्षले हत्या गरेको दाबी गरेको छ ।
महोत्तरीको प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसवार अनुसार पति रोहन राति खाना खाएर सँगै सुतेको, अचानक बिरामी हुँदा प्रादेशिक अस्पताल जलेश्वर उपचारकालागि लगेको र त्यहाँ मृत्यु भएपछि शव घर ल्याइएको प्रहरीलाई बयान दिएका छन् ।
यता माइत पक्षले आफूहरु पुग्दा रिनाको मुखबाट रगत बगेको जस्तो र घाँटीमा निलडाम जस्तो देखिएकोले छोरीको हत्या भएको दाबी गरेको छ ।
छोरीको हत्या भएको दाबी गर्दै माइत पक्षले पति रोहनसहित परिवारका चारजनाविरुद्ध प्रहरीमा बुधबार कर्तव्यज्यान मुद्दामा जाहेरी दिएको छ ।
ससुरा ५२ वर्षीय बृज मोहन राउत, सासु ४८ वर्षीया मनतोर देवी राउत र देवर २५ वर्षीय ओमकुमार राउतविरुद्ध जाहेरी परेको हो ।
रिना मंगलबार मात्रै माइतबाट ससुरा फर्किएकी थिइन् । मृतक रिनाको शव परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । पोस्टमार्टम पश्चात मात्र के कारणले मृत्यु भएको खुल्ने डिएसपी जयसवारको भनाइ छ । घटना सामान्य भएको बताउँदै प्रहरीले भने कसैलाई पनि पक्राउ गरेको छैन ।
धनुषाको हंसपुर नगरपालिका–६ सोनिगामाकी रिनाको गत वैशाख १९ गते सामाजिक परम्परा अनुसार रोहनसँग भएको थियो । जसमा माइती पक्षले लत्ता, कपडा, भाडा बर्तन, फर्निचर, सुन, चाँदीका गहना तथा नगद गरी जम्मा १५ लाख खर्च गरेको बुबा नवलले बताए ।