एसपी रिपोर्टर
जनकपुरधाम, साउन ३२ : मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आफनो मन्त्री परिषदको प्रत्येक मन्त्रीहरुसंग कार्यसम्पादन करार सम्झौता गरेका छन् । यि करार सम्झौता अनुसार मन्त्रीले आ आफनो विभागिय कामका लागि असार मासन्त कुर्न नहुने, धमाधम कामहरु गर्ने र तिन तिन महिनामा गरेका काम, गर्न नसकेका काम, काम गर्न नसक्नुका समस्या, चुनौतीहरु विषयमा समिक्षा बैठक गरेर उपयुक्त कारण देखाउनुपर्ने हुन्छ ।
मधेसको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले मधेसका मन्त्रीहरुसंग कार्य सम्पादन करार सम्झौता गरेको मुख्यमन्त्री सिंहले बताए । पछिल्लो समय मधेसका मन्त्रालयहरुको कार्यक्रम तथा योजनाहरु समयमै सम्पन्न नहुने, बजेट अत्याधिक मात्रामा फ्रिज हुने लगायतका समस्या समाधान गर्ने उद्देश्यले सम्बन्धित मन्त्रीहरुसंग कार्य सम्पादन करार सम्झौता गरिएको हो ।
मन्त्रालयहरुको कार्य सम्पादन छरितो र प्रभावकारी बनाउनका लागि सम्बन्धित मन्त्रीहरुसंग सम्झौता गरिएको उनले मुख्यमन्त्रीले बताए । उनले भने ‘अब मन्त्रीज्यूहरु मन्त्रालयका सचिवहरुसंग समन्वय गरेर मन्त्रालयका योजनाहरु कार्यान्वयनमा ल्याउने छन् र यसले परफर्मेन्स पनि राम्रो हुनेछ ।’ यसका साथै मन्त्रालयका योजनाहरु कार्यान्वयनमा के कारणले र कसको कारणले ढिलाई वा समस्या भईरहेको छ भन्ने पत्ता लगाउन र सोको समाधान गर्न सहज हुने मुख्यमन्त्री सिंहले बताए ।
उनले यो सम्झौताले मन्त्रालयका कर्मचारीहरुलाई दायित्व बोध गराउनुका साथै समयमै काम सम्पन्न गर्न मद्दत मिल्ने विश्वास व्यक्त गरे । मुख्यमन्त्री सिंहले अब मासिक वा त्रैमासिक रुपमा प्रत्येक मन्त्रालयको कार्य सम्पादनको समिक्षा समेत गरिने जानकारी दिए ।
मुख्यमन्त्री तथा मन्त्रीहरुसंग गरिएको कार्यसम्पादन करार सम्झौतामा प्रदेश सरकारका निति तथा कार्यक्रममा शामिल साझा योजनाहरुका साथै सम्बन्धित मन्त्रालयहरुको विभिन्न क्षेत्रका कार्यहरुलाई समेटिएको छ । सम्बन्धित मन्त्रीहरु आफ्नो मनत्रालयको सूचक निर्धारण गर्न स्वतन्त्र हुनेछन् ।