एसपी रिपोर्टर
जनकपुरधाम, साउन ३१ : नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले विकासको समुचित प्रवाहका लागि जनसंख्याको आधारमा निर्वाचन क्षेत्र र सांसद सहि भए जस्तै मन्त्री पनि सोहि अनुसार हुनुपर्ने बताएका छन् ।
जनकपुरधाममा भारतको ७८ औं स्वतन्त्रता दिवसको अवसरमा नेपाल भारत मैत्री युवा संघ धनुषाले आयोजना गरेको भारतको स्वतन्त्रता आन्दोलनमा नेपाली नेताहरुको भुमिका विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै यादवले भने, ‘१५ लाख जनसंख्या भएको कर्णाली र ६१ लख जनसंख्या भएको मधेशमा एकैनाशको मन्त्री मण्डल हुनुपर्दछ भन्नु मुर्खता हो ।’

मधेशी नेताहरु जनसंख्याको आधारमा निर्वाचन क्षेत्र र प्रतिनिधित्व हुनुपर्छ भन्ने कुरा जोडदार रुपमा उठाउँछ तर पहाडी नेता र राज्य सञ्चालकलाई खुसी पार्न जनसंख्याको आधारमा मन्त्री मण्डल पनि मधेशमा सोहि अनुसार हुनपर्छ भनेर भन्न सक्दैन, उनले भने ।
मधेशमा संविधानको मर्म र परिधी भित्रै रहेर विस्तार भएको मन्त्री परिषदको बचाउमा मधेशी नेताहरु नबोलेर हार मानेको जस्तो गर्नु शासकलाई खुसी पार्ने काम मात्र भएको उनको दावी छ । उनले पुनः मन्त्री परिषद विस्तार गर्न मुख्यमन्त्रीलाई आग्रह समेत गरे ।
पुर्वमन्त्री समेत रहेका यादवले कांग्रेस र एमालेको वर्तमान सरकार निर्वाचन सम्म चल्ने भन्दै ओली पछि सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने बताए । देशको कुनै पनि क्षेत्र र निकाय समावेशी हुनुपर्ने बताए ।