एसपी रिपोर्टर
जनकपुरधाम, साउन २५ :
जनकपुरधाममा इन्टरप्रेनर मिट’ सम्पन्न भएको छ । जनकपुरधाममा शुक्रबार नव मिथिया फाउण्डेशनको आयोजनामा दोश्रो जनकपुर इन्टरप्रेनर मिट सम्पन्न भएको हो । नव उद्यमीलाई हौसला तथा प्रेरणा प्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका सफल उद्यमीहरूले आफ्नो अनुभव सुनाउनुका साथै उद्यमशीलताका लागि ध्यान दिनुपर्ने विभिन्न पक्षहरूबारे युवा तथा विद्यार्थीहरूलाई जानकारी दिए ।
कार्यक्रममा मोटिवेशनल स्पीकर मानसी अग्रवाल, आर्किटेक इन्जियर मनिषा साह, मुक्तिनाथ विकास बैंकका शाखा प्रबन्धक श्याम महासेठ, उद्यमी रञ्जित आचार्य, सञ्चारकर्मी दिलभुषण पाठक लगायतले युवाहरूलाई हौसला प्रदान गरेका थिए । उनीहरूले उद्यमीका लागि वित्तीय साक्षरता आवश्यक रहेको पनि बताएका थिए । उनीहरूले
जीवनमा कुनै काम गर्दा फेल हुँदैमा निराश नभएर लक्ष्य प्राप्तिका लागि निरन्तर संघर्ष गर्न सल्लाह दिएका थिए ।
कार्यक्रममा उद्योग, वणिज्य तथा पर्यटनराज्यमन्त्री शम्भु साहले उद्यम गर्न चाहने युवाहरूले आफ्नो देशको मौलिकतालाई ध्यानमा राखेर उद्यमशीलता गर्नुपर्ने सुझाव दिए । जनकपुरधामका नगरप्रमुख मनोजकुमार साहले जनकपुरधामका उद्योगी व्यवसायीको हितमा गर्दै आएको कामका विषयमा जानकारी दिए । कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, जनकपुरधाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनिषरमण साह, आयोजक नव मिथिला फाउण्डेशनका अध्यक्ष अमित साह लगायतले समेत बोलेका थिए ।