संजय कुमार साह
जनकपुरधाम , साउन १७ :
जनकपुरधाम अयोध्या रेल सेवा चाँडै नै संचालनमा आउने भएको छ । नेपालको भौतिक मन्त्रालय तथा नेपाल रेल्वे कम्पनीले जनकपुरधामदेखि भारतको अयोध्यासम्म रेल संचालनको तयारी अन्तिम चरणमा रहेको जनाइएको छ ।
नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले सेवा सञ्चालनका लागि समय तालिका सार्वजनिक गरिएको र अब चाँडै कार्यान्वयनमा ल्याउने तयारी भईरहेको जानकारी दिए । उनले २०८० पुस १ गते भौतिक मन्त्रालय मार्फत जनकपुरधामबाट अयोध्या हुँदै दिल्लीसम्मका लागि रेल सेवा संचालनमा ल्याउने तयारी गरिएपनि पहिलो चरणमा अयोध्यासम्म मात्रै संचालनमा आउने बताए । महाप्रबन्धक झाका अनुसार पहिलो चरणमा अयोध्यासम्म मात्रै रेल संचालनमा ल्याउने तयारी गरिएपनि दिल्लीसम्म रेल सेवा संचालन गर्नका लागि पहल जारी राख्ने प्रतिवद्धता व्यक्त गरे । उनले सप्ताहको एक दिन अयोध्यासम्म जनकपुरधामबाट रेल गुड्ने तयारी स्वरुप समय तालिका समेत सार्वजनिक गरि सकिएको बताए ।
रेल सेवा प्रत्येक शनिबार दिनको १ः३० बजे जनकपरधामबाट खुल्ने र ४ बजे बिहान अयोध्या पुग्ने तथा सोही रेल साँझ ५ बजे अयोध्याबाट फर्किएर अर्को बिहान ७ः३० बजे जनकपुरधाम पुग्ने गरी तालिका सार्वजनिक गरिएको उनले जानकारी दिए ।
‘जनकपुरधाम–अयोध्या रेल सञ्चालनका लागि समय तालिका सार्वजनिक गरेका छौँ, अब सोहीअनुसार छिट्टै सेवा सुरु गर्ने तयारीमा छौँ । उद्घाटनको समय तालिका मिलाउन लागिएको छ, समय मिल्नासाथ औपचारिक घोषणा गर्नेछौँ ।’
यता उनले भंगहादेखि बर्दिवाससम्मको रेल्वे लिक निर्माणको कार्य चाँडै शुरु गरिने बताए । मुआब्जा वितरणको काम ८५ प्रतिशतसम्म सम्पन्न भई सकेको र बाँकी १५ प्रतिशतमा विवादहरु रहेकाले सोको समाधानका लागि पहल भईरहेको बताए । उनले मन्त्रालयबाटै त्यो विवाद समाधान गर्ने पहल भईरहेकाले चाँडै नै विवाद समाधान गरेर कातिक महिनादेखि निर्माण कार्य अगाडी बढाइने सम्भावना रहेको दिए । त्यस्तै कार्गो रेल सेवा संचालनका लागि भारत सरकारसंग समन्वयका लागि पहल भईरहेको जानकारी दिए ।