एसपी रिपोर्टर
जनकपुरधाम, साउन ११ :
मधेसमा बालबालिकाहरुमा कुपोषणको अवस्था डरलाग्दो रहेको समयमा पोषणयुक्त प्रदेश बनाउने अभिप्रायले इनफ अभियानको शुरुवात गरिएको छ । ३ वर्षलाई लक्षित गरेर थालिएको कुपोषणविरुद्धको ’इनफ’ अभियानले बालबालिकालाई पोषिलो खानेकुरामा पहुँच पु¥याउने लक्ष्य लिइएको छ ।
वल्र्ड भिजन नेपालले शुक्रबार जनकपुरधाममा आयोजना गरेको कुपोषणमुक्त मधेश प्रदेशको लागि ’इनफ’ अभियानको मुख्यमन्त्री सतिशकुमार सिंहले शुभारम्भ गरे । मुख्यमन्त्री सिंहले एक नवजात शिशुलाई पोषिलो खानेकुरा चम्चाले खुवाउँदै अभियानको शुभारम्भ गरेका थिए ।
उनले मधेश प्रदेशमा अन्नको पर्याप्त र विविधता रहेपनि बालबालिकाको कुपोषण देखिनु चिन्ताजनक रहेको बताए । ‘बालबालिकालाई पोषिलो खानेकुरा खुवाउन हामी कहाँ चुक्यौँ ? यो चिन्ताको विषय हो,’ मुख्यमन्त्री सिंहले भने,‘कुन बेला के खाने, कति खाने र कसरी खाने यो बुझ्नु पनि जरुरी छ ।’ सिंहले मधेश प्रदेशलाई कुपोषणमुक्त बनाउन प्रदेश सरकारले हरेक किसिमको सहयोग गर्न तयार रहेको पनि बताए ।
मधेश प्रदेशकी शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले सानै उमेरमा विवाह हुँदा मधेशमा बालबालिका मात्र होइन, विवाहित महिलामा पनि पोषणयुक्त खानेकुरा नपुगेको देखिएको बताइन् । ‘मधेशमा जन्मिने धेरैजसो बालबालिकाको तौल जन्मिँदै कम हुन्छ । शारीरिक अवस्था कमजोर देखिन्छ,’ मन्त्री तिवारीले भनिन्, ‘त्यो भन्दा डरलाग्दो के छ भने आमाको स्वास्थ्य अवस्था पनि कमजोर नै देखिन्छ । खानेकुरा मधेशमा पर्याप्त रहे पनि हाम्रो फूड ह्याविट सच्चाउने बेला भएको छ ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन सिंह कोइरीले मधेशको स्वास्थ्य र शिक्षाको सूचकांक निकै कमजोर रहेकाले त्यसलाई प्रभावकारी बृद्धि गर्न प्रदेश सरकार तयार रहेको बताए । उनले कुपोषित बालबालिकाका लागि पोषणयुक्त खानेकुराका लागि प्रदेश सरकारले अभियान नै सञ्चालन गर्ने जानकारी दिए ।
युवा तथा समाज कल्याणमन्त्री प्रमोद जसलवालले मानव सूचकांकका हरेक इन्डिकेटरमा कमजोर मापन गरिएको मधेश प्रदेशमा बालबालिकाको हरेक समस्या सुल्याउन अभियान नै थाल्नुपर्ने बताए ।
वल्र्ड भिजनका कन्ट्री हेड अनुप राणाले यो अभियानले देशमा देखिएको कुपोषण तथा भोकमरीको भयावह तस्वीरलाई बदल्ने दावी गरे । उनले देशभरीमै मधेसमा पोषणको अवस्था चिन्ताजनक रहेकाले मधेस प्रदेशलाई केन्द्रित गरेर यो अभियानको आरम्भ गरिएको जानकारी दिए ।