एसपी रिपोर्टर
जनकपुरधाम, साउन १० :
पटक पटक विवादमा आई रह्ने आँखा अस्पताल फेरी विवादकै कारण चर्चामा छ । केही दिन यतादेखि अस्पतालमा ताला लागेको छ, चिकित्सकिय सेवा प्रभावित भएको छ ।
केही राजनीतिक दलका स्थानीय नेता कार्यकर्ताहरुले अस्पताल सुधारका लागि दवाबको सिर्जना गर्ने उद्देश्यले बनाएको सर्वदलिय तथा सर्वपक्षिय समितिले अस्ताललाई गोजीको संस्था बनाएको भन्दै अस्पताल परिसरमै हातपातका साथै तोडफोड गरेपछि विवादले झन उग्र रुप लिएको छ । अहिले आएर दूबै पक्ष आरोप प्रत्यारोपमा उतरिएको छ । सर्वपक्षिय समितिले अस्पताल भ्रष्टाचारको अखाडा बन्दै गईरहेको आरोप लगाउँछ भने अस्पताल पक्षले व्यक्तिलाई स्थापित गर्न अस्पतालमा आन्दोलन चलाईएको आरोप लगाउँछ । विवादका बिच दूबै पक्षले छुट्टा छुट्टै पत्रकार सम्मेलन गरेर आ–आफ्नो पक्ष राखेको छ ।
समितिले पत्रकार सम्मेलन गरेर रेडक्रस धनुषाका सभापति एवं जानकी आँखा अस्पतालका अध्यक्ष नरेश सिंहले अस्पताललाई गोजीको संस्था बनाउनुका साथै भ्रष्टाचारको अखाडा बनाएको आरोप लगाएको छ । रेडक्रसका कोषाध्यक्ष एवं समितिमा समेत रहेका धिरेन्द्रमोहन झाले वर्तमान रेडक्रस सोसाइटीको धनुषा समिति नै अवैधानिक रहेको दावी गरे । उनले सिंह अगाडी सभापति बनेका गंगाराम यादव ७७को नियमावली अनुसार बनेको अवस्थामा उनीपछि सभापति बनेका सिंह ७५को नियमावलीलाई टेकेर सभापति कसरी बने भन्दै प्रश्न गरे । उनले भने ‘वर्तमान समिति नै अवैधानिक छ, आफू कोषाध्यक्ष हुँ वर्तमान समिति तै पनि यो समिति अवैधानिक रहेको स्वीकार गर्छू ।’
झा आफू यो समितिको नाम मात्रको कोषाध्यक्ष रहेको भन्दै सिंह लगायतका उनका आसेपासेहरुका साथै उनी संगै लागेका केही चिकित्सकहरुले मेरो हस्ताक्षर बिना नै करोडौ रुपैयाँ झिकेर अस्पतालको रकम अपचलन गरेको आरोप लगाए । यसका साथै अस्पतालको एनएमबी बैंकमा रहेको १ करोड बढी एफडी नविकरण गर्नका लागि मेरो स्वीकृति समेत नलिइएको उनले भने ।
यता सर्वदलिय सर्वपक्षिय समितिका संयोजक राम सिंह यादवले अस्पतालमा कार्यरत चिकित्सकमाथी श्रम शोषण समेत भईरहेको आरोप लगाए । उनका अनुसार ५ वर्ष अगाडी छात्रवृत्तिमा टिचिङ अस्पतालबाट एमडी पढेका डा. अमित यादव जानकी आँखा अस्पतालमा काम गर्न शुरु गरे । त्यसबेला जानकी आँखा अस्पताल सञ्चालन समितिका अध्यक्ष थिए, डा. विजय कुमार सिंह । डा. यादवले २ वर्षको करार सम्झौताको आधारमा काम सुरु गरेका थिए । उक्त करारको अवधि समाप्त नहुँदै डा. सिंहको पदावधि समाप्त भयो ।
सञ्चालक समितिका अर्का अध्यक्ष गंगाराम यादवले डा.अमितको म्याद थप गरिदिए २ वर्षका लागि । डा.अमितको अर्को म्याद समाप्त नहुँदै अध्यक्ष यादवलाई पदमुक्त गरी रेडक्रसले उपाध्यक्ष नरेशप्रसाद सिंहलाई सञ्चालन समितिको अध्यक्ष पदमा नियुक्त गरिदियो ।
सिंहले पहिलेदेखि नै डा.यादवको तलबमा बार्गेनिङ गरिरहेका थिए । उनले चाहे अनुसार डा. अमितले साथ दिएका थिएनन् । आफैँ अध्यक्ष भएर आएपछि सिंहले डा.यादवलाई अस्पतालबाट निकाल्ने प्रपञ्च सुरु गरेको समितिका संयोजक सिंहको आरोप छ । यीनै बेथिति बिरुद्ध डा. यादव बोल्दा उनीबिरुद्ध अध्यक्ष सिंह लगायतका समूह जाइ लागेको र विवादको सिर्जना भएको दावी गरे । यसका साथै डा. संतोष साह र रञ्जना ठाकुर संग यस्तै दुव्र्यवहार गरिएको यादवको भनाई छ ।
नेपाल रेडक्रस सोसाइटीअन्तर्गत सञ्चालन भइरहेको आँखा अस्पतालको सञ्चालन नियमावली, २०७५ मा व्यवस्था गरिएअनुसार अस्पतालको सञ्चालन समिति पाँच सदस्यीय रहने व्यवस्था गरिएको छ । तर, सोही नियमावलीमा पहिलो संशोधन २०७७ मा सञ्चालन समिति ७ सदस्यीय हुने व्यवस्था गरिएको हो ।
नियमावलीको व्यवस्था अनुसार सञ्चालन समितिमा रेडक्रसले नियुक्त गरेको एक अध्यक्ष र एक कोषाध्यक्ष हुने व्यवस्था छ । त्यसैगरी रेडक्रसका जिल्ला शाखा अध्यक्ष अस्पताल सञ्चालन समितिका पदेन उपाध्यक्ष रह्ने व्यवस्था गरिएको छ । समितिका निवर्तमान अध्यक्ष समितिमा पदेन सदस्य र अस्पताल प्रमुख पदेन सचिव रहने व्यवस्था गरिएको छ ।
यता, अस्पतालका वर्तमान अध्यक्ष नरेश सिंह, रेडक्रस धनुषाका अध्यक्ष रहेको नाताले पदेन उपाध्यक्ष पनि छन् । सिंहले नियमावलीअनुसार निवर्तमान अध्यक्ष गंगाराम यादवलाई पदेन सदस्य चयन गर्नुपर्नेमा उनका नजिकी पूर्व अध्यक्ष डा. विजय सिंहलाई पदेन सदस्यमा राखेका छन् । सञ्चालन समितिमा बहुमत भएपछि अध्यक्ष सिंहले एक्लौटी निर्णयहरू गर्दै आएको र अस्पताललाई गोजीको संस्था बनाएको आरोप लगाइएको छ ।
यता आँखा अस्पतालका अध्यक्ष नरेश सिंह लगायतका अस्पताल प्रशासन पक्षले समेत पत्रकार सम्मेलनको आयोजना गरेर सम्पूर्ण अरोपको खण्डन गरेको छ ।
आँखा अस्पतालका अध्यक्ष नरेश सिंहले यो अस्पतालको अध्यक्ष विनोद शर्मा, डा. विजय सिंह, गंगाराम यादवपछि मात्रै म अध्यक्ष भएको भन्दै यसले अस्पताल गोजीको संस्था नरहेको प्रमाणित गर्छ स्पष्ट पारे । यसका साथै गंगाराम यादव निर्वाचित अध्यक्ष नरहेको र डा. विजय सिंह निर्वाचित पूर्व अध्यक्ष रहेकाले उनलाई निवर्तमान अध्यक्षको नाताले पदेन सदस्य राखिएको उनले स्पष्ट गरे । धिरेन्द्रमोहन झा हाम्रै समितिको कोषाध्यक्ष हुनु हुन्छ अहिले, अध्यक्ष सिंहले भने ‘उहाँ आफै रेडक्रसको सदस्य हुनु हुन्थेन, उनको नियुक्ति राजनीतिक रुपमा गरिएको छ ।’ अहिले आएर झाले रेडक्रस बिरुद्ध जथाभावी अनर्गल प्रचारवाजी गर्नुका साथै अस्पतालको गरिमा तल झार्ने काम गरि रह्नु भएको आरोप लगाए ।
यता आँखा अस्पतालका प्रमुख डा. आशिष बोहोराले कुनै पनि चिकित्सक वा कर्मचारीलाई बलजफ्ती हटाउन लागिएको आरोप बेतुकको रहेको दावी गरे । उनले डा. अमित यादव इन्टन्र्स गर्नका लागि यहाँ आउनु भएको र उनको करार अवधि नथप्ने निर्णय भएपछि आन्दोलनको रुप दिइएको आरोप लगाए । बोहराले डा. यादवलाई विज्ञापनबाट आफूहरुले तपाईलाई राख्न तयार रहेको भनेपछि उनले बखेडा झिकेको आरोप लगाए । डा. यादवले आँखा अस्पतालमा आउने बिरामीलाई रेफर गर्ने, वैकल्पिक पूर्जीको प्रयोग गर्ने लगायतका कृयाकलापमा लागेकाले पनि हामी उनको करार अवधि नथप्ने पक्षमा पुगेको उनको भनाई थियो ।
यसका साथै डा. रञ्जना ठाकुरलाई मधेसको स्वास्थ्य मन्त्रालयले आँखा अस्पतालमा २०८०÷०४÷२९मा काजमा खटाएको र पछि मन्त्रालयले नै काज फिर्ता लिएको डा. बोहोराले स्पष्ट पारे । मन्त्रालयबाट सेवा सुविधा खाईरहेको अवस्थामा उनलाई यहाँबाट पनि सेवा सुविधा दिनुपर्ने हाम्रो बाध्यता नरहेको उनको भनाई थियो ।
बोहोराले अस्पतालको खरिद प्रकृयामा भ्रष्टाचार भएको आरोप समेत निराधार रहेको दावी गरे ।