एसपी रिपोर्टर
जनकपुरधाम, साउन ८ :
महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५लाई शतप्रतिशत विद्यालय भर्ना वडा घोषणा गरिएको छ । सेभ द चिल्ड्रेन, एफसिए तथा रतौली युवा क्लवको सहयोगमा पिपरा गाउँपालिकालाई शतप्रतिशत विद्यालय भर्ना पालिका घोषणा गर्ने अभियान अन्तर्गत पिपराको वडा नम्बर ५लाई शतप्रतिशत विद्यालय भर्ना वडा घोषणा गरिएको हो । सो वडालाई पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले एक कार्यक्रमका बिच शतप्रतिशत विद्यालय भर्ना वडा घोषणा गरेका हुन् ।
घोषणा समारोहलाई सम्बोधन गर्दै पिपरा गाउँपालिकाका अध्यक्ष यादवले शिक्षालाई प्राथमिकतामा राखेर पालिकाले काम गरिरहेको बताए । उनले निजि विद्यालयभन्दा उत्कृष्ट शिक्षकहरु सामुदायिक विद्यालयमा हुँदाहुँदै समेत सामुदायिक विद्यालयप्रतिको दृष्टिकोण बदल्नु आवश्यक रहेको बताए ।
रतौली युवा क्लवका प्रतिनिधि कृष्ण बहादुर भूर्तेलले हामीले विद्यालय बाहिर रहेका ५ वर्षदेखि १२ वर्षसम्मका बालबालिकाहरुलाई विद्यालय पुर्याउने लक्ष्य अनुरुप अभियान चलाईरहेको बताए । यो अभियानलाई सफल पार्नका लागि सरकारी निकाय तथा अभिभावकहरुसंग समन्वय गरेर अगाडी बढिरहेको उनको भनाई थियो । अहिले हामीले पिपराको २, ३ र ५ वडालाई शतप्रतिशत विद्यालय भर्ना वडा घोषणा गरेका छौँ चाँडै नै बाँकी ४ वडाहरुलाई समेत घोषणा गर्नेछौँ उनले भने ।
पिपरा गाउँपालिकाका शिक्षा संयोजक राजकिशोर झाले यो भर्ना अभियानले अहिले असर नदेखाए पनि आउने दिनमा यसले साकारात्मक असर पक्कै देखाउने दावी गरे । उनले पिपरा गाउँपालिकाकाको ७ वटै वडालाई शिक्षित वडाको रुपमा विकास गर्नका लागि हामी लागि परेको उनको भनाई थियो ।
पिपरा गाउँपालिका वडा नम्बर ५का वडाध्यक्ष हरिशंकर प्रसाद यादवको अध्यक्षतामा भएको घोषणा समारोहमा वडा नम्बर ३का वडाध्यक्ष किशोरी अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवनारायण यादव लगायतको उपस्थिति रहेको थियो ।