एसपी रिपोर्टर
जनकपुरधाम, साउन ३ : अन्तत जनमत पार्टी कांग्रेसको अडान र लामो रस्साकस्सी पछि मन्त्री परिषद विस्तार गरेको छ । नेपाली कांग्रेसका चार र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक मन्त्री सहित मधेस सरकारमा सहभागि भएको छ ।
जनमत नेतृत्वको मधेस सरकारलाई समर्थन दिएको कांग्रेस र लोसपाका मन्त्रीहरुले शपथ लिएसंगै मधेस सरकार विस्तार भएको हो । मधेस सरकारमा कांग्रेसबाट ४ जना र लोसपाबाट १ जना मन्त्री थपिएका छन् । कांग्रेस र लोसपाबाट नवनियुक्त मन्त्रीहरुलाई बिहिबार साँझ प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शपथ ग्रहण गराएका हुन् ।

कांग्रेसबाट अर्थमन्त्रीमा रौतहटका सुनिलकुमार यादव, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रीमा पर्साका जनार्दन क्षेत्री, उर्जा सिँचाइ तथा खानेपानी मन्त्रीमा धनुषाका शेषनारायण यादव र श्रम तथा यातायात मन्त्रीमा सर्लाहीका कौशलकिशोर रायले शपथ ग्रहण गरेका हुन् ।
लोसपाबाट रानी शर्मा तिवारीले शिक्षा तथा संस्कृति मन्त्रीको शपथ लिएकी हुन् । यस अघि सो मन्त्रालय सम्हाल्दै आएका एमालेका राजकुमार लेखीलाई गृह सञ्चार तथा कानून मन्त्रालयको जिम्मेबारीमा सारिएको छ ।
