एसपी रिपोर्टर
जनकपुरधाम, साउन १ :
जिल्ला प्रहरी कार्यालय धनुषाले आर्थिक वर्ष ०८०/०८१ मा ८ सय ७९ फरार प्रतिवादी पक्राउ गरेको छ ।
मंगलवार जिल्ला प्रहरी कार्यालय धनुषाले एक पत्रकार सम्मेलन गरी विभिन्न घटनाका ती फरार प्रतिवादी पक्राउ गरी जनाएका छन् ।
पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक भुवनेश्वर तिवारीले ८ सयभन्दा बढी फरार प्रतिवादी पक्राउ गर्नु नै गत आर्थिक वर्षको ठुलो उपलव्धि रहेको बताए । त्यसैगरी पत्रकार सम्मेलनमा भन्सार चोरी निकासीमा ९ करोड ५६ लाख ३ हजार भन्दा बढी रकम राजश्व संकलन गरिएको जानकारी समेत उनले दिए ।
प्रगति विवरण बारे जानकारी दिदैं प्रहरी उपरिक्षक तिवारीले अवैध लागुऔषध तर्फ गाँजा ६०७.३९९ किलो, ब्राउन सुगर १४१.४६ ग्राम,नाईट्राभेट ट्यावलेट ३ हजार २५८ पिस, सिमप्लेक्स ४९५ क्यापसुल, स्पलेन ३४ बोतल, पेण्डाजोल ईन्जेक्सन–२६ पिस, नूर्फिन ४९९ एनटिजेड, नाईट्राजेपाम–३५४० पिस, नाईट्रोसम–४७ पिस, कोडिवेल– २७ बोतल वरामद गरिएको बताए ।
यस्तै साइबर क्राइमतर्फ ३२० वटा निवेदन प्राप्तभएकोमा सम्बन्धित कार्यालयमा २७८ वटा कारवाहीका लागि पठाइएको छ भने ४० वटाको काम सम्पन्न भएको हो । अनुचित लेनदेन मिटरब्याजीतर्फ १ हजार १४५ वटा निवेदन दर्ता भएकोमा ६०२ वटाको मुद्दा फर्छौट भएको, २० वटा मुद्दा दर्ता भएको जानकारी दिदैं उनले २५ विग्घाभन्दा बढी जग्गा पिडितलाई फिर्ता गराइएको र २४ करोड ५९ लाखभन्दा बढी रकम साहु महाजनको असुल गराइएको बताए ।
साथै जिल्लाका विभिन्न स्थानमा ७४ वटा नयाँ सिसिटीभी जडान र ६२ वटाको मरम्मत गराइएको जानकारी दिदैं प्रहरी उपरिक्षक तिवारीले सवारी दुर्घटनामा केही वृद्धि भएपनि धनजनको क्षतिमा निकै न्यूनीकरण भएको बताए । उनले भने गत तीन वर्षको तथ्यांक हेर्दा पछिल्लो आ.व.मा १ हजार ९० सवारी दुर्घटना भएको जसमा ७३ जनाको मृत्यु, ४०५ गम्भीर घाइते र १ हजार ३२० जना सामान्य घाइते भएको बताए ।