एसपी रिपोर्टर
जनकपुरधाम, असार ३० :
नेपाल एकेडमी अफ टुरिज्म एण्ड होटेल मैनेजमेन्ट (नाथम)ले आयोजना गरेको विभिन्न विषयमा दिएको तालिमको एक समारोह बिच समापन गरिएको छ ।
विभिन्न ६ विधामा प्रशिक्षार्थीहरुले लिएको तालिमको प्रमाणपत्र वितरण गर्दै तालिम समापन भएको हो । नाथमले बेसिक फूड प्रिपेरेशन, फूड एण्ड बेभरेज सर्भिस, बरिष्टा, बेकरी, बेसिक हाउस किपिंग र लोकल टुरिष्ट गाइड विषयक तालिम प्रशिक्षार्थीहरुलाई प्रदान गरेको नाथमका प्रमुख शिवेन्द्र मल्लिकले जानकारी दिए ।
तालिमको समापन समारोहमा बर्दिवासका नगरप्रमुख प्रह्लाद क्षेत्रीले बर्दिवास नगरपालिकाले कलेजलाई साथ र सहयोग गर्दै आईरहेको र आगामी दिनमा समेत गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले नाथमले यस भेगको विद्यार्थीहरुलाई आत्मनिर्भर बनाउन भूमिका निर्वाह गर्ने भएकाले बर्दिवास नगरपालिका यो कलेजका विकासका लागि हरसम्भव प्रयास गरि रह्ने बताए । नगरप्रमुख क्षेत्रीले नगरपालिकाले कलेजलाई जग्गा उपलब्ध गराई सकेको र भवन निर्माणका लागि समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
मधेस प्रदेशको श्रम तथा यातायात मन्त्रालयका सचिव रंजित यादवले सीप संगै रोजगारको अवसर सिर्जना गर्ने गरी तालिमको आयोजना निरन्तर गर्न प्रदेश सरकार तथा मन्त्रालय तयार रहेको जानकारी दिए । उनले अहिलेसम्म मन्त्रालयले त्यो अनुसार रणनीति बनाउन नसकेपनि आगामी आर्थिक वर्षदेखि सीप संगै रोजगार सहितको तालिम संचालन गर्ने दिशामा काम गर्ने बताए ।
श्रम तथा यातायात मन्त्रालयको सहयोगमा नाथमले आयोजना गरेको विभिन्न तालिमको समापन समारोहमा नाथमका निर्देशक संगिता ओझा, होटेल व्यवसायी विजय झुनझुनवाला, हिरा गौतम लगायतको उपस्थिति रहेको थियो । तालिममा १ सय ३१ प्रशिक्षार्थी सहभागी भएका थिए ।