एसपी रिपोर्टर
जनकपुरधाम, असार २६ :
जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको १२औँ नगरसभामा नगरप्रमुख मनोजकुमार साह नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । जनकपुरधामलाई सफा, स्वच्छ, सुन्दर तथा सु–संस्कृत बनाउने उद्देश्यसहित उपमहानगरले विभिन्न नीति अवलम्बन गरेको छ । उपमहानगरले फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेको छ । यसका लागि आर्थिक वर्ष २०८१÷८२ मा बृहत सेनिटरी ल्याण्डफिल साइट स्थापना गरेर सञ्चालनमा ल्याइने उपमहानगरको नीति तथा तथा कार्यक्रममा उल्लेख छ । नगर भित्र विभिन्न स्थानमा फोहोर संकलन केन्द्र राखिने जनाइएको छ । लामखुट्टे नियन्त्रणका लागि विशेषज्ञहरुसंग सल्लाह गरेर अगाडी बढाइने नीति तथा कार्यक्रममा बताइएको छ ।
उपमहानगरले एक वडा एक पोखरी कार्यक्रम अन्तर्गत प्रत्येक वडामा न्यूनतम एउटा पोखरीको सौन्दर्यीकरण गर्ने, सडकमा पार्किङ व्यवस्थित गर्ने, मैथिली भाषा साहित्य प्रवद्र्धनका लागि मिथिला सांस्कृतिक प्रतिष्ठान गठन गरिने जनाइएको छ । जनकपुरधामका विद्यालयहरुको भौतिक संरचना स्तरोन्नती गर्ने , एक वडा एक खेलको अवधारणा अनुसार खेलकुदक पूर्वाधार निर्माण गर्ने, प्रत्येक दुई वर्षमा वृहत् खेलकुद महोत्सव आयोजना गरिने र प्रत्येक वर्ष शैक्षिक मेलाको आयोजना गरिने छ ।
३० लाखसम्मको करदाताको सम्पति करमा ३४ प्रतिशत छुट दिइने, आर्थिक वर्षको पहिलो त्रैमासिक भित्र सम्पति कर बुझाउने पुरुषलाई ५ प्रतिशत र महिलालाई १० प्रतिशत छुट दिइने तथा अनलाइन माध्यमबाट कर तिर्ने प्रणाली स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । यता उपमहानगरको बजेट असार ३१ गते ल्याइने जनाइएको छ ।