सोनु साह
जनकपुरधाम, असार २४ : जनकपुरधाम उपमहानगर भित्र रहेका सामुदायिक विद्यालयका शिक्षकहरुले गत वैशाख महिनादेखिको तलब भत्ता नपाएको भन्दै आन्दोलित हुने भएका छन् । जनकपुरधाम उपमहानगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुलाई दरबन्दी मिलानको बहानामा तलब भत्ता रोकिएको भन्दै शिक्षकहरु आन्दोलनको चेतावनी दिएका हुन् ।
उपमहानगरपालिकाले तलब भत्ता निकासा गरेपनि दरबन्दी मिलान नभएको नाममा शिक्षकहरुको तलब रोक्नु अव्यवहारिक तथा तर्कसंगत नरहेकाले आफूहरु तलब निकासाको माग गर्दै मंगलबार डेलिगेशन बुझाउन लागेको नेपाल शिक्षक संघका नगर अध्यक्ष गौरीशंकर लाल कर्णले जानकारी दिए । उनले डेलिगेशन बुझाए पछि पनि आफूहरुको माग सम्बोधन नभए चरणवद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।
यता अस्थायी शिक्षकहरुलाई कामकाजमा नखटाउन उपमहानगरले काटेको पत्रको बिरोध समेत शिक्षकहरुले गर्न थालेका छन् । जनकपुरधाम उपमहानगर भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरलाई बिगार्ने मनसायबाट गरिएको सो निर्णय घोर आपत्तिजनक रहेको नेपाल ट्रेड युनियन धनुषाका अध्यक्ष एवं गोगल प्रसाद मावि बसहियाका प्रधानाध्यापक महावीर दासले बताए । उनले उपमहानगरको यो निर्णय तत्काल सच्याउन समेत आग्रह गरेका छन् ।