एसपी रिपोर्टर
जनकपुरधाम, असार २२ : मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले चार दलका छ मन्त्रीहरुलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री सिंहले माओवादीका २, नेकपा एसका २ र नागरिक उन्मुक्ती तथा नेपाल संघिय समाजवादी पार्टीका एक÷एक गरि छ मन्त्रीहरुलाई बर्खास्त गरेका हुन ।
माओवादी केन्द्रबाट क्रमश भरत साह अर्थ, युवराज भट्टराई उद्योग बाणिज्य तथा पर्यटन, नेकपा एसका गोविन्द न्यौपाने भुमि व्यवस्था तथा कृषि, वेचु लुंगेली उर्जा तथा खानेपानी, नागरिक उन्मुक्तीबाट उर्मिला सिंह श्रम तथा यातायात र नेपाल संघिय समाजवादी पार्टीबाट बिमला अन्सारी तरुन्ना गृह, सञ्चार तथा कानुन मन्त्री थिए । उनीहरुलाई बर्खास्त गरिएको जानकारी मुख्यमन्त्री सिंहले प्रदेश प्रमुख कार्यालयमै पुगेर जानकारी गराई सकेका छन् ।
वर्षात हुदै गर्दा छाता ओढेरै प्रदेश प्रमुख कार्यालय पुगेका मुख्यमन्त्री सिंहले भने, ‘बर्खास्त गर्न नपरोस भन्ने मेरो चाहना हुदाहुदै पनि वहाँहरु प्राविधिक कारणवस राजिनामा दिन नसक्ने बताए पछि अगाडि बढ्न परेको हो ।’ आफनो चाहना लिखित धन्यवाद सहित मायाको चिनोका साथ वहाँहरुलाई बिदाई गर्ने रहेको भएपनि वहाँहरु राजिनामा दिएर मार्ग प्रसस्त गर्न नचाहेपनि यस्तो कदम चालिएको मुख्यमन्त्री सिंहले बताए ।
उनले कांग्रेस र लोसपा सरकारमा प्रवेश गर्न लागेको जानकारी गराउदै बिश्वासको मत लिइसकेपछि दुवै दललाई के कसरी सरकारमा ल्याउने भन्ने बारे छलफल हुने बताए । स्रोतका अनुसार कांग्रेस ४ र लोसपा २ मन्त्री सहित सरकारमा जान लागेका हुन । कांग्रेसबाट कृष्णा यादव सरकारमा सहभागि नहुने बताइन्छ । स्रोतका अनुसार कांग्रेसको तर्फबाट जर्नादन क्षेत्रीले सरकारमा नेतृत्व गर्ने छ भने शेषनारायण यादव, शुनिल यादव तथा जंगीलाल यादव मन्त्री बन्ने छ ।