सोनु साह
जनकपुरधाम, असार १७ : नयाँ सदस्यता र नविकरणमा नेपाल पत्रकार महासंघको नेतृत्व चुकेको र अवैधानिक बाटो अपनाएको पछिल्लो विरोधको घटनाहरुले स्पष्ट भएको छ । नेपाल पत्रकार महासंघको सो कदम विरुद्व नेपाल प्रेस युनियनले आज नेपाल पत्रकार महासंघको देशै भरिको सबै शाखा, प्रतिष्ठान र एशोसिएट शाखाहरुमा तिन घण्टा धर्ना दिएको कार्यक्रममा व्यापक सहभागिता देखिएको छ ।
धर्नाको आह्वान युनियनले गरेपनि अन्य संगठनका सदस्यहरु पनि अप्रत्यक्ष रुपमा सहभागिता जनाउदै युनियनको कदम सराहनिय रहेको बताउन थालेको छ । यसै बिच युनियन धनुषा शाखाका अध्यक्ष राजन कुमार सिंहको अगुवाईमा जनकपुरधाम स्थित महासंघको धनुषा शाखा भवनमा भएको धर्ना कार्यक्रममा अन्य संघ संगठनका पदाधिकारी र सदस्यहरु समेत आएर केहि बेर अनौपचारिक उपस्थिती जनाएका हुन ।
सो अवसरमा नेपाल पत्रकार महासंघ मधेश अध्यक्ष राजेश कुमार कर्ण, युनियनका केन्द्रिय उपाध्यक्ष अनिल कुमार कर्ण, प्रदेश उपाध्यक्ष धिरेन्द्र साह, वरिष्ठ पत्रकार अशोक रौनियार, युनियनका अगुवा नेताहरु वरिष्ठ पत्रकार राम भरत साह र हिमांशु चौधरी, शैलेन्द्र झा, कमल साह, धैर्यकान्त दत्त सहित दर्जनौं युनियनकर्मी र पत्रकारहरुको सहभागिता रहयो । केन्द्रिय उपाध्यक्ष कर्ण र धनुषा अध्यक्ष सिंहले महासंघले विधान बिर्सदा सबै समस्या उत्पन्न भएको बताउदै शाखाको बहुमत र प्रदेशबाट सिफारिस प्रतिवेदन लागु भए सबै समस्या समाधान हुने बताए ।