एसपी रिपोर्टर
जनकपुरधाम, असार ५ :
महोत्तरीको मटिहानी नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२का लागि ४० करोड २७ लाख ६२ हजारको बजेट ल्याएको छ ।
महिटहानी नगरपालिकाको १३औँ नगरसभामा नगरप्रमुख हरिप्रसाद मण्डलले आर्थिक वर्ष २०८१÷०८२का लागि ४० करोड बढीको बजेट प्रस्तुत गरेका हुन् ।
सो बजेटको रकम राजस्व बाँडफाँटमा संघ सरकारबाट प्राप्त ८ करोड ७१ लाख, प्रदेश सरकारबाट प्राप्त ३५ लाख, समानीकरण अनुदान १० करोड ४१ लाख, ससर्त अनुदान चालु तर्फ १४ करोड ९८ लाख, सशर्त अनुदान पुजिगत तर्फ ६६ लाख, समपुरक अनुदान ५० लाख, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण, विशेष अनुदान र समपूरक अनुदान पुँजीगत तर्फमा १ करोड २६ लाख, आन्तरिक स्रोतहरू भूमिकर÷मालपोत, घरबहाल कर, बहाल बिटौरी कर, सवारीसाधन करसहितका विभिन्न शीर्षकबाट प्राप्त हुने तथा गत आर्थिक वर्षको मौज्दातबाट पूर्ती गरिने छ ।
मटिहानी नगरपालिकाले ल्याएको नीति, कार्यक्रम तथा बजेटमा कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखिएको छ । त्यस्तै मटिहानीको धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलको विकासको क्षेत्रमा समेत उल्लेख्य कदम उठाइने नगरप्रमुख मण्डल बताए ।
नगरप्रमुख मण्डलको अध्यक्षतामा भएको नगरसभाको उदघाटन सत्रमा मधेसका मुख्यमन्त्री सतिश सिंह, जिल्ला समन्वय समिति धनुषाका सभापति सुमनलाल कर्ण, मटिहानी नगरपालिकाको उपप्रमुख मंजुदेवी साह, महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल लगायतको उपस्थिति रहेको थियो ।