एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ३० :
धनुषाको धनुषाधाम नगरपालिकामा पछिल्लो समय भ्रष्टाचारले प्रश्रय पाईरहेको भन्दै सुशासनको माग गर्दै एमाले धनुषाधाम नगर कमिटीले ध्यानाकर्षण पत्र बुझाएको छ । शिक्षा, स्वास्थ्य, सरसफाई लगायतका शिर्षकमा व्यापक भ्रष्टाचार भईरहेको भन्दै सुशासन कायम गरी काम गर्न गराउन एमाले धनुषाधाम नगर कमिटीले बुधवार नगरपालिकामा २० बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।
नेकपा एमालेका नगरकमिटीका अध्यक्ष एवं धनुषाधाम नगरपालिकाका नगरप्रमुखका प्रत्यासी योगकुमार यादवको नेतृत्वमा गएका एमालेका नेता तथा कार्यकर्ताहरुले धनुषाधाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजित दासलाई ध्यानाकर्षण पत्र बुझाउँदै धनुष जनता उच्च माध्यमिक विद्यालय तथा काशीपुरको प्राथमिक विद्यालयमा शिक्षकको समस्या तत्काल समाधान नभए आन्दोलनमा उतरिन बाध्य हुने चेतावनी समेत दिएका छन् ।
एमाले नगर कमिटीका अध्यक्ष यादवले धनुषाधाममा शिक्षा तथा स्वास्थ्यमा व्यापक बिकृति रहेको बताए । उनले १४ सय बढी विद्यार्थी अध्ययनरत धनुष जनता उच्च माध्यमिक विद्यालयमा शिक्षक भर्नाका लागि शिक्षा समन्वय ईकाईले स्वीकृति दिई सकेपनि शिक्षक भर्नामा नगरपालिका बाधक भईरहेको आरोप लगाए । नगर भित्र रहेका अन्य विद्यालयहरुमा समेत शिक्षक अभाव रहेकाले करारमा शिक्षक भर्ना गरेर यो समस्या समाधन गर्न सकिएपनि नगरपालिकाले त्यता तर्फ ध्यान नपुराएको उनले गुनासो गरे ।
नगरपालिकामा दरबन्दी अनुसार कर्मचारीहरुले काम गर्नुपर्ने आफूहरुको माग रहेको यादवले बताए । त्यस्तै स्वास्थ्य चौकीहरु अस्तव्यस्त छ, बिरामीले त्यहाँ निःशुल्क पाउने कुनै पनि औषधी पाउन नसकेको आरोप यादवको छ ।
यता ध्यानाकर्षण पत्र बुझ्दै अधिकृत दासले आफू यी समस्याहरुको विषयमा छलफल गरेर सोको निदानका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नगर विकासका लागि आफूले चाल्न सक्ने कदम चाल्ने उनले बताए ।