एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २७ : नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी शक्तिहरुलाई एकठाउँमा उभिन अपिल गरेका छन् । जसपा नेपाल पार्टी विभाजन भएपछि समाजवादी मोर्चा शिथिल परेको समयमा पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले समाजवादी शक्तिहरुलाई एकठाउँमा उभिन अपिल गरेका हुन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको पहिलो राष्ट्रिय महाधिवेशनको समुदघाटन सत्रलाई सम्बोधन गर्दै नेपालले मुलुकमा देखिएका अवरोधहरुलाई हटाउन समाजवादी शक्तिहरुलाई एकठाउँमा उभिन आवश्यक रहेको बताए । उपेन्द्रजी र हामी केही दिन अगाडीसम्म केन्द्र र प्रदेश सरकारमा संगै थियौँ, उनले भने ‘समाजवादी मोर्चामा पनि संगै काम गर्यौँ, विचार र मन मिलेको छ भने एक साथ मिलेर अगाडी बढौँ, समाजवादको ध्येय पूरा गरौँ ।’
उनले जसपा नेपाल पछिल्लो समय चुनौतीको सामना गरिरहेको बताउँदै जसपा नेपालले यी चुनौती तथा बाधाहरुलाई पार गर्दै अगाडी बढ्ने विश्वास व्यक्त गरे । जसरी उपेन्द्रजी ले चुनौतीको सामना गर्दा खुट्टा कमाउनु भएन र मधेस आन्दोलनको अगुवाई गर्नुभयो त्यसरी नै जसपा नेपालका नेता कार्यकर्ताहरु समेत विचलित नहुने उनले बताए ।