एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २७ :
मधेस सरकारले आर्थिक वर्ष २०८१÷०८२मा खुद्रे योजनामा लगानी नगर्ने जनाएको छ । जनकपुरधाममा उद्योगा वाणिज्य तथा पर्यटन मन्त्रालयले आयोजना गरेको पर्यटन क्षेत्रसंग सम्बन्धित सरोकारबलाहरु संगको छलफल तथा अन्तरकृया कार्यक्रममा बोल्दै प्रदेशका मन्त्रीहरुले खुद्रे योजनामा लगानी नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
मधेसका अर्थ मन्त्री भरत साहले यस अघि प्रदेश सरकार खुद्रे योजनामा विशेष ध्यान दिएकाले विकासको अनुभूति हुने गरी काम नभएको बताए । उनले दिर्घकालिन योजनाहरु ल्याएर प्रदेशको पर्यटकीय स्थलहरुको पहिचान गरी काम गर्नु अहिलेको आवश्यक्ता रहेको बताए । मन्त्री साहले संघ सरकारले ठूलठूला योजनामा लगानी गरिरहेकाले प्रदेश सरकारले कम्ती मझौला योजनाहरुमा लगानी गर्नु पर्ने र स–साना योजनाहरु स्थानीय सरकारलाई छोड्नु पर्ने बताए ।
उनले जानकी मन्दिरलाई बेस बनाएर रामायण सर्किटकै नमूनामा सीता सर्किटको विकास गर्न तर्फ केन्द्रित हुनु पर्ने बताए । यसले मधेसको पर्यटनलाई टेवा पुग्ने उनको भनाई थियो ।
उद्योग वाणिज्य तथा पर्यटन मन्त्री युवरजा भट्टराईले मधेसको पर्यटन क्षेत्रको विकासका लागि ४ वटा सर्किट निर्माण गर्ने लक्ष्य प्रदेश सरकारको रहेको जानकारी दिए । उनले सिरहा–सप्तरी, धनुषा–महोत्तरी, सर्लाही–रौतहट र बारा–पर्सालाई जोडेर ४ वटा सर्किट निर्माणमा प्रदेश सरकार केन्द्रित हुने प्रतिवद्धता व्यक्त गरे । उनले यसमा पनि जानकी मन्दिर र जनकपुरलाई केन्द्रमै राखिने जानकारी दिए । यस अघि बजेट भएपनि बजेट फ्रिज हुँदै गईरहेको गुनासो गर्दै त्यसलाई कम गर्न खुद्रे योजनामा केन्द्रित नै नहुने बताए ।
होटेल एसोसिएसन अफ नेपाल मधेसको अध्यक्ष विजय झुनझुनवलाले परमिटको समस्याका कारण कतिपय पर्यटकलाई जनकपुरधाममा टिकाउन नसकेको उनले गुनासो गरे । उनले अहिले २४ घण्टाका लागि दिइदै आएको निःशुल्क परमिटको व्यवस्था कि त हटाई दिनु पर्यो कि त यो व्यवस्थालाई ३ दिन पुर्याउने गरी संशोधन गर्नु आवश्यक रहेको बताए । झुनझुनवलाले मधेसमा प्रत्येक धर्मावलम्बीका लागि आस्थाका केन्द्रहरु रहेको जानकारी दिदै ती स्थानहरुलाई चिन्हित गरेर सो को व्यवस्थापन तर्फ लाग्न प्रदेश सरकारलाई लाग्न आग्रह गरे ।
उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयका सचिव राजिव पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा पर्यटन तथा होटेल व्यवसायी संघ मधेसका अध्यक्ष हिरा गौतम, अर्थ मन्त्रालयका सचिव, विभिन्न होटेल तथा पर्यटन व्यवसायीहरुले आ–आफ्नो मन्तव्य राखेका थिए ।