एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २५ : मधेशको तेस्रो मुख्यमन्त्रीका रुपमा नियुक्त भएका जनमत पार्टीका प्रदेश सांसद सतिश सिंहले पहिलो निर्णयमा शहिद परिवार, संघियता र गणतन्त्रका संस्थापक नेता गजेन्द्र नारायण सिंह तथा रामराजा प्रसाद सिंह लक्षित कार्यक्रम देखि कृषि, शिक्षा, सञ्चार र खेलकुदलाई प्राथमिकतामा राख्दै विभिन्न निर्णहरु गरेका छन् ।
सपथ ग्रहण पश्चात शहिद गेट पुगेर शहिदहरु प्रति पुष्प अर्पण गरेका उनले त्यस लगतै पदभार ग्रहण गर्दै विभिन्न निर्णयहरु गरेका छन् । संघियता र गणतन्त्रका संस्थापक द्वय नेता गजेन्द्र नारायण सिंह तथा रामराजा प्रसाद सिंह लक्षित कार्यक्रमहरु ल्याउने, मधेशका १ सय ३६ पालिकाका १२ सय ७१ सबै वडामा बाँझो जग्गा उपयोग गर्न नमुना कृषि विकास मोडन लागु गर्दै एक पालिका एक कृषि उत्कृष्टता केन्द्र तयार गर्ने, मधेशका हरेक जिल्लामा नमुनाको रुपमा एक एक खुल्ला शैक्षिक पार्क तयार गर्ने, मधेशको तथ्याङ्कलाई भरपर्दो बनाउन आफनै डिजिटल तथ्याङ्क बैंक स्थापना गर्ने, बैदेशिक रोजगारी बाट फर्केकाहरुलाई श्रम बैंकको रुपमा उपयोग गरि शिप र रोजगारको विकास गर्ने निर्णय गरिएको छ ।

साथै मधेशमा लगानी सम्मेलनको आयोजना गर्ने, खोजमुलक पत्रकारिता प्रर्वद्वनका गर्दै प्रदेशको मिडिया साझेदारी कार्यक्रम गर्ने र दर्ता भएका मिडियामा काम गर्ने पत्रकारहरुको दुर्घटना बिमा गर्ने, मधेशमा गौरवको आयोजनाका रुपमा खेलकुदको रंगशाला निर्माण गरि प्रदेश स्तरीय खेलाडीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय भएको उनले बताए । उनले आउन लागेको निती तथा कार्यक्रममा यि विषयहरु समेटिने बताए ।
संघियता माथी भइरहेका प्रहार र भ्रष्टचार न्युनिकरण आफनो पहिलो प्राथमिकता रहने पनि उनले बताए । आफनो पार्टी संग धेरै मन्त्रालय नरहेपनि अभिभावकको जिम्मा पाएकाले सबै दललाई मिलाएर यि कामहरु गर्न आफु केन्द्रित हुने उनको तर्क थियो ।