एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २३ : नेपालको संघिय संविधान पश्चात २०७४ सालमा संघियता र संविधान कार्यान्वयनका लागि भएको आम निर्वाचनमा राजपाबाट प्रदेश सांसदमा निर्वाचित सरोज यादव पहिलो गाँसमै सभामुख खान सफल भए । राजपाका वरिष्ठ नेता राजेन्द्र महतोको प्रिय पात्र उनलाई सभामुखमा उम्मेदवार बनाइयो र तत्कालिन संघिय समाजवादी फोरम नेपालको समर्थनमा उनी सभामुख बने ।
ति दुई दलले मिलेर मेधशमा प्रारम्भिक सरकार पनि बनाए । सभामुखका रुपमा यादवको कार्यकाल एकदमै सफल र सबै दलका नेताको नजरमा तारिफ योग्य रह्यो । सरल, नम्र स्वभावका यादव आफनै रजैसी तरिकाले जिउने नेताका रुपमा परिचित व्यक्ति पनि हुन । पहिलो कार्यकालमा सरकारमा हेरफेर भएपनि स्वभाव र सबैसंग मिल्ने समन्वयकारी व्यक्तित्वकै कारण उनले पनि सभामुख पुरै कार्यकाल चलाउन सफल भए ।
हुनत राजपा सरकार र सत्ता समिकरणबाट बाहिरँदा यादवको पद धरापमा पर्ने चर्चा भएको थियो तर राजपा छोडेर उनले फोरमनै रोजेपनि उनको विकल्प पनि कुनै दलले नसोचेकाले उनी सर्वमान्य सभामुख बन्न सफल भए । भन्दा कुनै फरक नपर्ला उनकै पहलकदमी र समन्वयमा यो प्रदेशको नामाकंरण र स्थाई राजधानी तोक्ने काम पनि भएकै हो । उनको त्यो नेतृत्वदायी भुमिकाको खुबै प्रशंसा पनि नभएको होइन ।
२०७९ को आम निर्वाचन पछि त झन उनले सभामुख भन्दा पनि प्रमुख कार्यकारी पद मुख्यमन्त्री पाउन सफल भए । उनीबाट सबैले अपेक्षा र भरोसा गरेकै हो । मुख्यमन्त्रीको पदभार संगै उनले बोलेका ति शब्द ‘न खान्छु न खान दिन्छु’ माने न भ्रष्टाचार गर्छु न गर्न दिन्छु भन्ने वाक्य धेरै चर्चित बन्यो । उनको अर्को वाक्य चर्चित बन्यो त्यो थियो, ‘प्रदेशको बिकास बुलेट टे«नको गतिमा हुन्छ’ त्यो पनि बोलीमै सिमित भयो ।
वहाँको बारेमा बजारमा सुनिने कुरा ‘भलेही यादव आफु भ्रष्ट प्रवृतीको व्यक्तित्व होइन र नगरेको होला तर उनको कार्यकालमा भ्रष्टाचार बाहेक कुनै कामै भएन ।’ गठबन्धनको दलदलमा दुई भन्दा बढि दलको मुख्यमन्त्री भएर चलाएका उनको कार्यकाल सुस्तताले भरिएको बिश्लेषण भइरहेको छ । थोरै, नम्र, निर्भिक र स्पष्ट बोल्ने यादव बोल्न त बोले तर उनको बोली अनुसार कुनै काम हुनै सकेन ।
करिव डेढ बर्षे मुख्यमन्त्री यादवको कार्यकाल बिश्वासको मत लिने, कसैलाई निकाल्ने कसैलाई स्वागत गर्ने, मन्त्री बनाउने भत्काउनमै बित्यो । गठबन्धनका कारण प्रधानमन्त्री, आफना र अन्य दलका पार्टी अध्यक्षहरुको निर्देशन र आज्ञा पालनमै अल्मलिएका उनको बर्हिगमण पनि नराम्रो मान्न सकिदैन । चार पटक सम्म सम्मानजनक बिश्वासको मत पाउन सफल उनले पाँचौ पटक बिश्वासको मत गुमाउँदा पनि चार सांसदको मात्र अन्तर छ । उनको पक्षमा ५० जना देखिए भन्ने विपक्षमा पनि मात्र ५३ जना ।
मुख्यमन्त्री नियुक्त भएपछि उनले पहिलो र दोस्रो पटक बिश्वासको मत लिने क्रममा उनको विपक्षमा एक सांसद पनि थिएन । सो क्रममा पालैपालो प्रमुख प्रतिपक्षी भएपनि एमाल र कांग्रेस सबैले उनलाई बिश्वासको मत दिएका थिए । उनको एकजना निकट व्यक्तिले भने, ‘म दावीको साथ भन्छु संसद गणित र राजनिति एउटा कुरो हो, तर बाहिर उनको विपक्षी अझै पनि कोहि छैनन ।’ उनी राजपा छोडेपनि राजपा र हाल लोसपाका नेताहरु संग उनको सम्बन्ध उतिकै प्रगाढ छ ।
पाँचौ पटक बिश्वासको मत लिदै गर्दा बुधवार उनले प्रदेशसभामा भनेका छन, ‘साथीहरुले खोइ के कारणले विभिन्न आरोपहरु लगाउनु भयो तर बिचार गर्नोस तपाँईहरु संग ५३ छन भने म संग पनि अझै ५० छन ,र यो संख्या अबिश्वासको होइन, बहुमतको लागि मात्र अपुग हो ।’ उनले आफुले मधेशको प्रदेशसभा र सरकारले उठाउने पर्ने हरेक मुद्दा र मांग प्रधानमन्त्री संग स्पष्ट र निडर रुपमा उठाउने गरेको दावी समेत गरे । एक पुरा कार्यकाल प्रदेशसभा र अर्को कार्यकाल मधेश सरकारको नेतृत्वमै बस्ने भाग्यमानी उनको बर्हिगमण संगै मधेशले अव तेस्रो मुख्यमन्त्री पाउने भएको छ ।