एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २२ :
जनकपुरधामस्थित रामजानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणाका लागि आवश्यक पूर्वाधार तयारीका विषयमा छलफल अगाडी बढाइएको छ ।
मंगलबार संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालय अन्तर्गत पुरातत्व विभागले रामजानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा तथा विश्व सम्पदामा सूचीकृत गर्नका लागि आवश्यक पूर्वाधार तयारीका विषयमा सरोकारबलाहरूसँग छलफल गरेको हो । छलफलमा सहभागी जनकपुरधामका नगर प्रमुख मनोजकुमार साहले जानकी मन्दिरलाई विश्व सम्पदामा सूचीकरणका लागि यथेष्ट प्रयास हुन नसकेको बताए । उनले यी सबै प्रक्रिया पूरा गर्न आवश्यक आर्थिक श्रोत जुटाउने विषयमा समस्या हुने गरेको बताए । नगरप्रमुख साहले यसका लागि कोष निर्माण गर्नुपर्ने उनले सुझाव दिए ।
नगरप्रमुख साहले जानकी मन्दिरलाई विश्व सम्पदामा सूचीकरणका लागि गंगासागर, धनुषसागर, राममन्दिर र जानकी मन्दिरसम्मको क्षेत्रलाई आधार बनाएर सीमांकन कार्य पूरा भइसकेको अवस्थामा यसलाइ अगाडि बढाउन संघीय सरकारसँग अनुरोध गरे ।
जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरलाई विश्वसम्पदाको सूचीमा सूचीकृत गर्न लामो समयदेखि पहल भइरहेको छ । युनेस्कोले सन् २००८ मा जानकी मन्दिरलाई विश्वसम्पदाको सम्भाव्य सूचीमा राखेपनि सूचीकृत हुन मापदण्ड तथा प्रक्रिया पूरा गर्ने काम हुन सकेको छैन । पुरातत्व विभाग आएर नक्साङ्कन पनि गरिसकेको छ । यी सबै प्रव्रिmया पूरा गरेर पुरातत्व विभागमा पठाइएको छ । तर, युनेस्कोमा लैजाने प्रक्रिया पूरा हुन सकेको छैन । जानकी मन्दिरलाई युनेस्कोमा सूचीकृत गराउन कुनै व्यक्ति वा संस्थाले पहल गरेर मात्र नहुने हुँदा सबैको प्रयास आवश्यक रहेको छलफलमा सहभागीहरूले बताएका थिए ।
जेठ १५ संघीय संसदमा भएको बजेट वक्तत्वयमा पनि अर्थमन्त्री वर्षामान पुनले आर्थिक वर्ष २०८१÷०८२ को बजेटमा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने बताएका थिए ।