एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १६ :
आर्थिक वर्ष २०७९/८० मा मधेश प्रदेशमा १ अर्ब ८५ करोड ४२ लाख ४२ हजार रुपैया बराबरको बेरुजु भएको देखिएको छ । अन्य प्रदेशको तुलनामा सबभन्दा बढी मधेश प्रदेशमा बेरुजु देखिएको छ ।
बुधवार महालेखापरीक्षक कार्यालयले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बुझाएको प्रदेशको छैठों प्रतिवेदनमा प्रदेशको मन्त्रालय तथा अन्य निकाय सहित १४९ वटा कार्यालयको ४७ अर्ब ९५ करोड २१ लाख ३२ हजार रुपैयाँ बराबरको गरिएको लेखापरीक्षणमा सो बेरुजु देखिएको हो ।
प्रदेशको १३५ सरकारी कार्यालय र १४ वटा अन्य संस्था तथा समितिको लेखापरिक्षण गरिएको हो । जसमा सरकारी कार्यालयतर्फ १ अर्ब ५९ करोड १६ लाख १७ हजार र अन्य संस्था तथा समितितर्फ २६ करोड २६ लाख २५ हजार रुपैया बराबरको बेरुजु रहेको छ ।
प्रतिवेदनमा १४९ वटा कार्यालयको गरिएको लेखापरिक्षणमा कायम गरिएको बेरुजुमा असुल गर्नुपर्ने ७ करोड ३१ लख ३ हजार, नियमिति गर्नुपर्ने १ अर्ब ३३ करोड २५ लाख ७१ हजार र पेश्की ४४ करोड ८५ लाख ६८ हजार रहेको छ । यसबाहेक विभिन्न योजनामा अनियमित भएको ३५ करोड ७९ लाख ४७ हजार र ९७ करोड ३९ लाख १२ हजार रुपैया बिना कुनै प्रमाण कागजातकै भुक्तानी गरिएको छ ।
प्रतिवेदन अनुसार सबभन्दा बढी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा ८२ करोड, ५४ लाख, ४५ हजार बेरुजु देखिएको छ । यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको ४४ करोड ६० लाख ९५ हजार, सामाजिक विकास मन्त्रालयको १२ करोड ३ लाख ९३ हजार, उर्जा सिचाई तथा खानेपानी मन्त्रालयको ७ करोड २८ लाख ३९ हजार, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको ४ करोड ९० लाख ४१ हजार र अन्य मन्त्रालय तथा निकायको ३४ करोड ४ लाख २९ हजार रुपैया बेरुजु रहेको छ ।
प्रदेश सरकारी कार्यालयतर्फ गत वर्षसम्मको पेश्की एक अर्ब ८३ करोड १५ लाख ६६ हजार रुपैया बांकी रहेकोमा यो वर्ष ३९ करोड ८२ लाख २१ ह्जार मात्र फर्छौट भई १ अर्ब ४३ करोड ३३ लाख ४५ हजार बांकी नै रहेको छ । यो वर्ष १३५ सरकारी कार्यालयको गरिएको लेखा परिक्षणमा प्रदेश सभा सचिवालयसहित १७ वटा कार्यालय र अन्य संस्था तथा समितितर्फ २ वटा कार्यालयको बेरुजु देखिएको छैन ।
हालसम्मको बेरुजुको अवस्था हेर्दा कोशी प्रदेशको रु पाँच अर्ब ५८ करोड चार लाख सात हजार, बागमतीको रु चार अर्ब २८ करोड पाँच लाख ६१ हजार, गण्डकीको रु दुई अर्ब ६८ करोड ५५ लाख ४२ हजार बराबर छ । त्यस्तै, लुम्बिनीको रु चार अर्ब दुई करोड नौ लाख ६९ हजार, कर्णालीको रु तीन अर्ब ९४ करोड ८२ लाख ५४ हजार र सुदूरपश्चिम प्रदेशको रु दुई अर्ब ६८ करोड २९ लाख २९ हजार बराबर बेरुजु देखिएको छ ।
यसैबीच महालेखापरीक्षकको कार्यालयका सह–सचिव एवं मधेश प्रदेश प्रमुखका प्रमुख श्याम प्रसाद भण्डारीबाट प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रतिवेदनको अध्ययन गरी प्रदेशमा आर्थिक सुशासन कायम गर्नका लागि प्रदेश सरकारलाई सुझाव दिने बताए ।
प्रदेश प्रमुख भण्डारीले मधेश प्रदेशमा बेरुजू अन्य प्रदेशको तुलनामा बढी हुनु चिन्ताको विषय भएको बताउँदै यस विषयमा प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराउने बताए । उनले महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले औँल्याएका विषयहरूको कार्यान्वयनले प्रदेशमा आर्थिक अनुशासन कायम गर्नमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे ।