एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ११ : जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्षमा उत्रेका छन् । कांग्रेसका जनकपुरधाम नगरसभापति समेत रहेका साह जिल्ला अदालत अगाडि सिरोहियाको रिहाईकोे लागि प्रदर्शन गर्नुका साथै केहि बेर धर्नामा समेत बसेका छन् ।
मेयर साहले भने, ‘श्री सरस्वती उच्च मावि र राराब क्याम्पसमा सिरोहिया अध्यन्न गरेको, उनको पिता जनकपुरधाम उद्योग बाणिज्य संघको स्थापना नगरि दशकौं नेतृत्व गरेको सबै झुठ हो ? ।’ कैलाश सिरोहिया अनागरिक हुनै नसक्ने भएकाले उनमाथी लगाइएको मुद्दा झुठो रहेको उनको तर्क छ ।
प्रेस स्वतन्त्रता कायम गर, झुठा मुद्दा खारेज गर, कैलाश सिरोहियालाई रिहा गर सहितका नारावाजी गरेका मेयर नेतृत्वका कांग्रेस नेता कार्यक्रता जिल्ला अदालतको गेट अगाडि केहि बेर धर्नामा बसेका थिए । मेयर साहले सिरोहियाको गिरफ्तारी मधेश विरुद्वको विभेद रहेको भन्दै साधारण तारेखमा छोडेर अनुसन्धान गर्नुपर्ने बताए ।