एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ९ : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई बिहीबारसम्म हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, धनुषाका न्यायाधीश चुडामणि खड्काको एकल इजलासले तीन दिन हिरातसमा राख्ने अनुमति दिएको श्रेस्तेदार कैलाश भट्टराईले बताए ।
“अदालतले पक्राउ भएको दिन देखि लागू हुने गरी अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न प्रहरी अनुमति दिएको छ,” श्रेस्तेदार खड्काले भने, “हिजो पक्राउ गरिएकाले भोलि विहिवार सम्म हिरासतमा राख्न पाइनेछ ।”
सिरोहियालाई मंगलबार काठमाडौंको थापाथलीस्थित कान्तिपुरको भवनबाटै पक्राउ गरिएको थियो । उनलाई धनुषाको जनकपुरधाम ल्याएर बुधबार अदालतमा उपस्थित गराइएको छ । उनलाई बिहीबारसम्म जिल्ला प्रहरी कार्यालय, धनुषाको हिरासतमै राखिनेछ ।
किन एतिधेरै त्रसित छन धनुषा प्रहरी
त्यस अगाडि आजै जनकपुरधामका नागरिक समाजका अगुवाहरु सिरोहियाको गिरफतारी विरुद्व प्रदर्शन गरेका थिए । जनकपुरधाम उद्योग बाणिज्य संघको अगुवाई र पहलमा नागरिक समाजका अगुवाहरुको एक सानो समुह जनकपुरधाम उद्योग बाणिज्य संघबाट रयाली सहित जिल्ला प्रहरी कार्यालय धनुषा तर्फ अग्रसर भएका थिए । तर उनीहरुलाई भैरवचौकमै रोकिएको थियो ।
भैरवचौकमा प्रहरीले घेरा हालेर जिल्ला प्रहरी तर्फ जान रोक लगाएपछि मुख्य सडकमै करिव एक आधा घण्टा धर्ना बसेका उनीहरुलाई नेपाली कांग्रेसको पार्टी कार्यालयबाट आएको तरुण दल र नेविसंघको जुलुसले घेरा मुक्त गरि जिल्ला प्रहरी कार्यालय तर्फ लगेका थिए । डेढ दर्जन जनकपुरधामका अगुवाहरुको रयालीलाई व्यापक प्रहरी परिचालन गरि रोकिनुले शंका उत्पन्न भएको र प्रहरीको लाचारी प्रदर्शन भएको नेपाल पत्रकार महासंघ धनुषाका पुर्व अध्यक्ष ब्रिज कुमार यादवले बताए ।