एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २७ : जनकपुरधाममा जारी रहेको अन्तर प्रदेश शहिद कप टि–२० क्रिकेट प्रतियोगिता २०८१ मा आज भएको सेमिफाइनल खेलमा जनकपुर–११ पाँच विकेटले विजयी भएको छ । जनकपुर–११ विजयीसँगै फाइनलमा प्रवेश गरेको छ ।
मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजना तथा नेपाल क्रिकेट संघ मधेश प्रदेश र शहिद कप क्रिकेट कमिटीको संयोजनमा जनकपुरधामको रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशालामा भइरहेको प्रतियोगितामा पहिला व्याटिङ्ग गरेका कोशी प्रदेशले निर्धारित २० ओभरको खेलमा ९ विकेटको क्षतिमा १२३ रन बनाएका थिए ।
१२४ रनको लक्ष्य सहित खेलमैदानमा उत्रेका जनकपुर–११ ले १८.५ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पार गर्दै विजयी भएको छ । जनकपुर–११ तर्फबाट उत्कृष्ट व्यटिङ्ग कप्तान हिमांशु दत्तले गर्दै टिमका लागि ४४ रन बनाएका थिए । यसका साथै दत्तले उत्कृष्ट विकेट किपिङ्ग पनि गरेका थिए ।

जनकपुर–११ का तर्फबाट उत्कृष्ट बलिङ गरेर ५ विकेट लिई टिमलाई जीत दिलाउनमा अहम् भूमिका खेलेका साहव आलम म्यान अफ दि म्याच भएका छन् । म्यान अफ दि म्याच भएका आलमलाई ७ हजार ५ सय नगल सहित १ हजारको गिफ्ट पाएका छन् ।
यसै गरि दोस्रो खेलमा शुरुमा व्याटिङ्ग गरेका सुदूरपश्चिम प्रदेशले २० ओभरको खेलमा ८ विकेटको क्षतिमा १२६ रन बनाएका थिए । १२७ रनको लक्ष्य सहित खेल मैदानमा आएका गण्डकी प्रदेशले मात्र २० ओभरमा ९ विकेट गुमाउदै मात्र १ सय १३ रन बनाउन सक्यो र १३ रनले पराजित भयो ।
प्रतियोगिताको फाइनल खेल भोली सो मैदानमा जनकपुर ११ विरुद्व सुदुरपश्चिम बिच हुने आयोजक संस्था शहिद कप क्रिकेट कमिटीका संयोजक रुपेश सिंहले जानकारी दिँदै विजेता टिमले २ लाख ११ हजार नगद, शिल्ड तथा प्रमाणपत्र तथा उपविजेता टिमले १ लाख ११ हजार नगल सहित शिल्ड तथा प्रमाणपत्र पाउने भएका छन् ।