एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २३ : आईतवार एक कार्यक्रममा महिला र दलित महिला वडा सदस्यहरुको एउटै आवाज थियो ‘महिलाले कहि बजेट चलाउने हो ?’ । यो उनीहरुको प्रश्न होइन, गुनासो थियो र भोगिरहेको विभेतको कुरा थियो ।
मान्डवी नामक गैर सरकारी संस्थाले रौतहटको चपुरमा ‘शी लिड्स’ (महिला नेतृत्व कार्यक्रम) अन्तर्गत आयोजना गरेको निर्वाचित महिला जनप्रतिनिधि र पत्रकारहरु बिच अन्तरक्रिया कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ की दलित महिला सदस्य शान्ति देवी दासले महिलाले बजेट चलाउने र बजेट बारे बुझने अधिकार अझै पाउन नसकेको बताईन् ।
मिथिला नगरपालिका वडा नं. ११ कि दलित महिला सदस्य बिन्दुभित्री कोटीले पनि बजेटमा सहभागिता हुन नसकेको भन्दै महिला शसक्त भइरहेको परिवेश देख्न नसक्ने जमात अझै हावी रहेको बताइन । महोतरी बर्दिवास नगरपालिका वडा नं. ३ की सदस्य सपना राणा र सर्लाही बरहथवा नगरपालिका वडा नं. ९ की ज्ञानु लामा सहित मधेशको पर्सा, सिरहा र सप्तरी बाहेककी पाँच जिल्लाकी महिला वडा सदस्यहरु आफुहरुलाई बहुमत पुगाउने हस्ताक्षरकर्ता मात्र बुझिने गरेको बताए ।
कार्यक्रममा पुर्व परराष्ट्रमन्त्री तथा राष्ट्रियसभा सदस्य विमला राई पौडयालले राष्ट्रियसभा र प्रतिनिधीसभामा महिला र पुरुष प्रतिनिधीले उठान गर्ने विषय र मुद्दाहरुमा आकाश पतालको भिन्नता हुने गरेको भएपनि सञ्चार माध्यम र पत्रकार महिला भन्दा पुरुषको कोड र मुद्दालाई प्राथमिकता दिने गरेको दृष्टान्त सुनाईन । दबाईएर राखिएको महिला सहितका जमातलाई सञ्चारजगतले प्राथमिकता र सकारात्मक रुपमा नलिए सम्म परिवर्तण जटिल रहेको उनको तर्क थियो ।