एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २२ : नेपाली कांग्रेसको शुभेच्छुक संगठन नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको मधेश प्रदेश समिति सर्वसम्मत चयन भएको छ । जनकपुरधाममा शनिवार सम्पन्न पहिलो मधेश प्रादेशिक अधिवेशनबाट महोतरीको विजय कुमार यादवको नेतृत्वमा तत्काल १४ सदस्सीय प्रदेश कार्यसमिति चयन भएको छ ।
समितिको उपाध्यक्षमा पर्साका भैयाराम पटेल, सचिवमा महोतरीका रामशुसिल मिश्र, सहसचिवमा सप्तरीका दिनेश प्रसाद गुप्ता र कोषाध्यक्षमा धनुषाका शुनिल कुमार मिश्र सर्व सम्मत चयन भएका छन् । सदस्यहरुमा पदाधिकारी नभएका जिल्लाहरुमा दुई सदस्य गरि मधेशका अन्य सबै जिल्लाका सदस्यहरु समेत गरि सहमतीमा कार्यसमिति चयन गरिएको तथा रौतहटबाट छिट्टै सदस्य थपिने निर्वाचन समितिका संयोजक कांग्रेसका युवा नेता मनोज कुमार चौधरीले बताए ।
कांग्रेस मधेश प्रदेशका उपसभापति तथा मधेश सरकारका पुर्व स्वास्थ्य मन्त्री विरेन्द्र कुमार सिंहको विशेष उपस्थिती तथा संघका केन्द्रिय सभापती योगेन्द्रनाथ कर्माचार्य, उपाध्यक्षद्वय विजय वहादुर स्वाँर र हरिनारायण यादव तथा महासचिव केदार पौडेल, जनकपुरधामका मेयर मनोज कुमार साह, धनुषा उपसभापति गणेश झा सहितको उपस्थिती रहेको अधिवेशनबाट सर्व सम्मत नयाँ कार्यसमिति चयन भएको चौधरीले बताए ।
२०७९ सालमा कांग्रेसको शुभेच्छुक संगठनको रुपमा आवद्वता पाएपनि संघको मधेश समिति गठन हुन सकेको थिएन ।