एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २१ : धनुषाधाम बस्दै सक्रिय पत्रकारितामा आवद्व पत्रकार विनय कुमार यादवको मृत्यूको घटनामा नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले चासो व्यक्त गर्दै घटना अध्यन्नका लागि टोली गठन गरेको छ । विहिवार बसेको महासंघको केन्द्रिय कार्यसमितिको बैठकले घटना प्रति चासो व्यक्त गर्दै गम्भिरता पुर्वक छलफल मात्र गरेन केन्द्रिय सचिव दिपेन्द्र चौहानको नेतृत्वमा मधेशवाट प्रतिनिधित्व गर्ने चार केन्द्रिय सदस्य सहितको टोली नै बनाएर घटना बारे अध्यन्न गर्ने निर्णय गरेको छ ।
केन्द्रिय समिति बैठकले गम्भिर रुपमा लिएको र टोली बनाएर अध्यन्न गर्दै स्थानिय प्रहरी प्रशासनलाई गम्भिर रुपमा अनुसन्धानका लागि दबाब दिने तयारी गरेको हो, केन्द्रिय सदस्य रिंकु मिश्र गायत्रीले बताइन् । महासंघ केन्द्रिय समितिले पछिल्लो समय सञ्चार माध्यमहरुमा आएको समाचार र तथ्यले घटना रहस्यपुर्ण रहेको ठहर समेत गरेको केन्द्रिय महासचिव रोशन पुरीले बताएको छ ।
धनुषा निवासी मृतक पत्रकार विनयको घटनामा केन्द्रिय समिति उत्सुकता र चासो देखाएपनि महासंघ धनुषा शाखा मौन रहेको भन्दै स्थानिय पत्रकार असन्तुष्टि जाहेर गर्न थालेको छ । घटनाको दिन पत्रकार यादवको दुर्घटनामा मृत्यू भएको आशयको विज्ञप्ती जारी गरेर धनुषा शाखा मौन भई बस्नु दुःखद रहेको उनीहरुको गुनासो छ ।
महासंघको केन्द्रिय समितिको सोहि बैठकबाट महासंघको तिनै तहको नयाँ नेतृत्व चयनका लागि अगामि जेष्ठ १९ गते निर्वाचन गर्ने निर्णय समेत गरेको छ ।