एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १९ : मधेश प्रदेशको राजधानी जनकपुरधाम स्थित मोनाष्टिक आवासिय माध्यमिक विद्यालयले महोत्तरीमा आगलागीका कारण घरबारविहीन भएका १०५ घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ । विद्यालयले महोत्तरीको मटिहानी नगरपालिका– ६ जरलहवा बस्तीमा आगलागीका कारण घरबारविहीन भएका १०५ घरपरिवारलाई बुधबार राहत सामग्री वितरण गरेको हो ।
मोनाष्टिकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत् टिनको ठूलो बाकसमा प्याक गरेर खाद्यान्न सामग्री, बेड सिट, साबुन, दालमोठलगायतका खाद्यान्न सहयोग गरेको जनाएको छ । गत बैशाख १० गते मटिहानी नगरपालिका वडा नं ६ जरलहवा बस्तीमा लागेको उक्त आगोले १०० भन्दा बढी घर पूर्णरूपमा जलेर खरानी भएका थिए भने ५० जति अन्य घरमा क्षति पुगी १५ करोडभन्दा बढीको धनमाल क्षति भएको अनुमान गरिएको छ ।

मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डल, जनकपुरधाम उपमहानगरपालिकाका पूर्वप्रमुख लालकिशोर साह र मोनाष्टिक स्कुलका निर्देशक डाक्टर सोनु साहले विद्यालयका विद्यार्थी तथा कर्मचारीहरूको सहभागितामा पीडित परिवारहरूलाई उक्त राहत सामग्री हस्तान्तरण गरेको हो । अध्यक्ष दशनलाल मण्डलले जानकारी दिनुभयो ।