एसपी रिपोर्टर
जनकपुरधाम, चैत २२ : नेपाल प्रेस युनियन धनुषाले नेपाल पत्रकार महासंघ धनुषाको अगामि ३० गते निर्धारित अधिवेशन तत्काल स्थगित गर्न मांग गरेको छ । नयाँ सदस्यता र सुद्विकरणका कारण नविकरण हुने÷नहुने सदस्यहरुको बिना निश्कर्ष अधिवेशन भए अन्यौलता उत्पन्न हुने भन्दै युनियन धनुषाले बिना निश्कर्ष अधिवेशन गर्न नहुने भन्दै ध्यानाकर्षण गराएको छ ।
युनियन धनुषाका अध्यक्ष राजन सिंहको अगुवाईमा पुगेको टोलीले महासंघ धनुषाकी अध्यक्ष मनिका झालाई ध्यानकर्षण पत्र बुझाउदै यथास्थितीमा अधिवेशन गरिए उत्पन्न हुने परिस्थितीको जिम्मेवारी महासंघले लिनपर्ने समेत बताएको छ ।
सो अवसरमा युनियन धनुषाका उपाध्यक्ष घनश्याम मिश्र, सचिव हरिवंश यादव, दिपेश मल्लिक, अभय शर्मा, टिकाराम सुनार, चन्दन ठाकुर सहितको उपस्थिती थियो ।
यस्तो छ युनियनको ध्यानाकर्षण पत्र :
नेपाल पत्रकार महासंघले शुरु गरेको सदस्यता शुद्धिकरण अभियानमा नेपाल प्रेस युनियनको पूर्ण साथ र सहयोग रहेको सर्वविदित्तै छ । पत्रकार महासंघलाई विशुद्ध पत्रकारहरुको संस्था बनाउन नेपाल प्रेस युनियनले निर्वाह गरेको भूमिकाबारे पत्रकार महासंघ पनि अनभिज्ञ छैन् । तर, पछिल्लो विकसित घट्नाक्रम अनुसार नेपाल पत्रकार महासंघले शुद्धिकरण अभियानलाई थाँती राखेर सार्वजनिक रुपमा प्रेस विज्ञप्ती जारी गरी जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशन घोषणा गरेको प्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ ।
पत्रकार महासंघको यस्तो निर्णयबाट शुद्धिकरण अभियानलाई नै ओझेलमा पार्ने काम भएको हाम्रो बुझाई छ । यसै सन्दर्भमा नेपाल प्रेस युनियन केन्द्रीय समितिको मिति २०८० चैत १७ गते सुनसरी जिल्लाको इटहरीमा सम्पन्न बैठकले पत्रकार महासंघले सदस्यता र मतदाता नामावलीको टुंगो लगाएर मात्र नेपाल पत्रकार महासंघका जिल्ला, प्रदेश र केन्द्रको अधिवेशन÷साधारणसभा गर्न निर्णय गर्दै पत्रकार महासंघलाई आग्रह समेत गरेको जानकारी गराउँदछौं ।
तसर्थः पत्रकार महासंघको सदस्यता टुंगो नलगाई साधारणसभा, अधिवेशन सहितका कुनै पनि प्रक्रिया अगाडी नबढाउन नेपाल पत्रकार महासंघ धनुषा शाखा संग आग्रह गर्दै ध्यानाकर्षण गराउँदछौं । अन्त्यमा, नेपाल पत्रकार महासंघले प्रेस युनियनको माग विपरित अधिवेशन÷साधारणसभा सहितका कुनै पनि प्रक्रिया अगाडी बढाएमा सोबाट उत्पन्न हुन जाने परिस्थितिको जवाफदेही स्वयं नेपाल पत्रकार महासंघ धनुषा शाखा नै हुने समेत यसै ध्यानाकर्षण–पत्र मार्फत जानकारी गराउँदछौं ।