एसपी रिपोर्टर
जनकपुरधाम, चैत १८ :
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले निर्माणाधीन आयोजनाहरू छिटो सम्पन्न गर्नका लागि नयाँ सोचका साथ काम गरिरहेको बताएका छन्।
आइतबार सिरहा र धनुषा जोड्ने कमला नदीको पुल निरीक्षणका क्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले सरकारले निर्माणाधिन योजनाहरु पहिलो चरणमा सम्पन्न गर्ने नयाँ प्रकारको सोचसहित सरकार अघि बढिरहेको बताए।
उनले पुल, सडक लगायतका निर्माणाधिन आयोजनाहरू पहिलो चरणमा सम्पन्न गरेपछि मात्रै नयाँ योजना अघि सार्ने रणनीतिसहित आफूहरू अघि बढेको बताए।
भाैतिकमन्त्री महासेठले आगामी असार मसान्तभित्र कमला नदीको पुल र हुलाकी राजमार्गको काम पूरा गर्न निर्देशन दिए। असार मसान्तसम्म काम पूरा नभए सडक विभागले कुनैपनि कदम चाल्ने चेतावनी समेत दिए।
उनले भने, ‘सरकारले निर्माणाधीन आयोजनाहरू छिटो सम्पन्न गर्न नयाँ सोचका साथ काम गर्दैछ। कमला पुललाई मधेसको मुख्य पुलका रूपमा लिएका छौं। याे सिरहा र धनुषा जोड्ने पुल हो। अब पहिला गल्ती भएको कुरा सच्याउन भनेका छौं। असारभित्र सम्पन्न गर्नेगरी अन्तिम निर्देशन गरेका छौं। हुलाकी सडकलाई पनि दिएका छौं। यदि असार मसान्तभित्र पूरा भएन भने सडक विभागले कुनै पनि स्टेप चाल्न सक्छ।’
निरीक्षणका क्रममा हुलाकी राजमार्ग योजना कार्यालय, जनकपुरका योजना प्रमुख कृष्णकुमार महतोले राजपत्रमा प्रकाशित हुन नसक्दा र लगत कट्टा हुन नसक्दा समस्या झेल्नुपरिरहेको बताए।
उनले सडक सीमाना स्पष्ट नहुँदा पनि कतिपय समस्या सिर्जना आइरहेको बताए।
हुलाकी सडकअन्तर्गत अहिले १६ वटा स्टे अर्डरसहितका २६ वटा मुद्दाहरूको सामना गरेर काम अघि बढाइरहेको उनकाे भनाइ छ।