पुरन रौनियार
जनकपुरधाम, चैत १ : मधेशमा बैदेशिक रोजगार प्रतिको आकर्षण बढदै गएपछि यहाँको विभिन्न जात र समुदायको पुर्ख्यौली पेशा धरापमा परे । हजामले कपाल काटन छोडेर, धोवीले कपडा धुन छोडेर त मलाहले माछा मार्न छोडेर धमाधम विदेश पलायन हुन थाले । तथापि यस्ता पनि व्यक्ति र परिवार अझै छन जस्ले आफनो बाजे पुर्खाले पहिचान बनाएको पेशा र काम अझै अंगालिरहेका छन् ।
धान, गहँु सहित अन्नवाली मात्र होइन माछा, आँप, केलाको व्यापारको विरासत रहेको मधेशमा खँसि बाख्रा पालन स्वभाविक लाग्न सक्ला तर मधेशमा भेडा पालन अझै भइरहको छ भन्ने कुरा पत्यारा नलाग्न सक्छ । तर यो सहि हो । धनुषामा मात्र चार परिवारले आफना बाजे पुर्खाको पहिचान जोडेको पुर्ख्यौली पेशा रहेको भन्दै भेडा पालन गरिरहेका छन् ।

हँसपुर नगरपालिका वडा नं. ३ मलहनियाका वृद्व रामकिशोर राउत, हँसपुर नगरपालिका वडा नं. ८ का राम बिनय राउत, सबैला नगरपालिका वडा नं. १ लालबिहारी गडेरी सहितका परिवारले गरि कुल छ सय भेडा पालन गरिरहेका छन् । उनीहरु भेडिहर समुदायका हुन त्यसैले उनका बाजे पुर्खाहरु भेडा पालन गर्ने गर्थे । यि किसानका बाजे पुर्खाहरुले राम्रो आम्दानी गरेर आफुहरुको लालन पालन गरेको, पहिचान ग जोडिएकाले पेशा अंगालिरहेको बताउने उनिहरु अझै पनि पेशा अंगालेपनि निरुत्साहित छैनन ।
तिन तहको सरकारहरुले केहि प्राविधिक सहयोग गरिदिए अझै राम्रो आम्दानी गर्ने आत्मवल उनीहरुसंग छ । भेडा बाख्रामा हुने पिपिआर संक्रामक रोग विरुद्वको खोप अभियानका क्रममा उनीहरुको घर आँगनमा पुगेका मधेशका कृषि मन्त्री गोविन्द प्रसाद न्यौपानेले तपाईहरु भेडाको कम्वल बनाउन किन छोडनु भयो ? प्रश्न गर्दा उनीहरु कतैबाट प्राविधिक सहयोग नभएपछि पछाडि परेको भन्दै वृद्व किसान रामकिशोर राउतले आफुहरु त्यो पनि गरेर देखाउने अठोट व्यक्त गरे ।

मधेश सरकारका कृषि मन्त्री न्यौपाने र मन्त्रालयका सचिव डा. शरण कुमार पाण्डेले मधेशका किसानले यसरी आफनो पुर्खयौली पेशा बचाएर राख्दा यस संरक्षण र सम्र्वद्वन राज्यको जिम्मेवारी बन्नुपर्ने उद्देश्यका साथ यस्ता व्यवसायलाई आधुनिक उद्योगिकरणका रुपमा अगाडि बढाउन लागि आफुहरु प्रयासरत रहेको बताए ।
विभिन्न जोखिम र अभावका बाबजुद पनि यस्ता पेशा अंगालेर देशमै आशावादी यस्ता किसानहरु प्रति नजिकको स्थानिय सरकार बेखवर हुनु दुःखद हो । हँसपुरका मेयर प्रदिप कुमार यादवले अगामि आर्थिक वर्षमा गोठ व्यवस्थापन सहित यस्का लागि बजेट छुटयाउने प्रतिवद्वता व्यक्त गरेका छन् । यस्ता कर्मजीवि किसानहरुको पेशामा आउने संकट समाधानका लागि यस्ता भ्याक्सिनका साथै प्राविधिक र आर्थिक सहयोग गरि उनीहरुको मनोबल बढाउन आवश्यक छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, धनुषाका प्रमुख डा. संजिव कुमार ठाकुरले भेडा बाख्रामा लाग्ने पिपिआर रोग विरुद्वको भ्याक्सिन निशुल्क रुपमा धनुषाको १८ वटै स्थानिय तहमा लगाउने अभियान चैत १ देखि ७ गते सम्म रहेको बताए । उनले हरेक स्थानिय तह गरि धनुषामा ६४ जना भ्याक्सिनेटर खटाएर सात दिनमा ९३ हजार खोप लगाइने बताए ।