एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २६ : बहुलराष्ट्र राज्य स्थापनाका लागि राष्ट्रिय मुक्ति क्रान्ति अभियान थालेका नेता राजेन्द्र महतोले पहिचान सहित बहुलराष्ट्र राज्य निर्माणको आन्दोलन अव मधेशको हुलाकी सडक देखि पहाडको लोकमार्गमा समेत एकै साथ हुने बताएका छन् ।
जनकपुरधाममा मुक्ति क्रान्तिद्वारा आयोजित वृहत सम्वादात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अव कुनै पनि लक्ष्य नरहेको बताउदै बहुलराष्ट्र राज्य निर्माण एक मात्र उद्देश्य हुने र त्यसका लागि मिल्ने शक्तिहरु बिच सहकार्य भएर मात्र पार्टीको निर्माण हुने समेत बताएका छन् । महतोले अहिले बनेको गठबन्धन पनि पालै पालो लुट मचाउने समुहको फरक मात्र भएको बताए । १२ प्रतिशत खस शासकहरु मिलेर पालै पालो कसरी ढुकुटी लुटने त्यसको क्रम नै वर्तमान गठबन्धन बन्नु र भत्कनु रहेको उनको तर्क थियो ।

कार्यक्रममा तामाङ्गका अगुवा बुद्वि छिरिङ्ग तामांङ्गले नेपालका मधेशी, आदीवासी, जनजाती, थारु र दलित सहितका पिछडिएका समुदाय कुर्सीको राजनिति गरेपनि बैचारिक राजनितिक गर्न नसकेको कारण समस्या अथावत रहेकाले सत्ता भन्दा पनि क्रान्तिका लागि केहि वर्ष खर्च गर्नुपर्ने बताए । उनले हरेक समुदायको समप्रभुता स्थापनाका लागि यो क्रान्ति थालिएको भन्दै गोर्खाली सत्ता ढाल्न सबै मिल्नुको विकल्प नरहेको बताए ।

उनले मधेशी, नेवार, तामांङ्ग, थारु, गुरुङ्ग र दलित सहितका सबै समुदाय अव एक भएर गोर्खाली शासनको अन्त्य गर्नुपर्ने बताए । उनले राजेन्द्र महतो यो क्रान्तिको अगुवाई गरेर राम बन्ने बताए । नेवार अगुवा तथा काठमाण्डौं महानगरपालिकाका प्रत्यासी सुमन शायमीले मधेशी जस्तै काठमाण्डौंको नेवारको पिडा मिल्दाजुल्दा रहेको बुझेर यस अभियानमा लागेको बताउदै काठमाण्डौंको मेयर भन्दा पनि मुक्तिको योद्वा हुन मन लागेकाले अभियानमा लागेको बताए ।

मधेशका युवा नेता केशव झा र राजिव झाले कांग्रेस, एमाले र माओवादीबाट आएर मधेशी दलको नेतृत्व गरेका नेताहरुको अगुवाईमा मधेशीको मुक्ति असम्भव रहेकाले यो क्रान्तिको विकल्प नरहेको बताए । सो अवसरमा मधेश सहित देशका विभिन्न प्रदेशका जनजाती, नेवार दलित सहित डा. सिके राउतको स्वतन्त्र मधेशको अभियानका संस्थापक कैलाश महतो सहितको बाक्लो उपस्थिती थियो ।

सहभागिले क्रान्तिको अपिलमा पृथ्वी नारायण साहको खुवै प्रशांसा गरिएको छ भनि सोधिएको प्रश्नमा अध्यक्ष महतोले आफुहरु पृथ्वी नारायण साहले एकिकरण गरेको भन्दा अघि देशमा रहेको विभिन्न राष्ट्रवादकै मांग गरिरहेको बताउदै पृथ्वी नारायण साहले एकिकरण गरेर सबैको फुलबारी भनेपनि त्यसो हुन नसकेको मात्र भनिएको बताए ।