एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २४ :
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले एमालेको साथ लिएर बुधबार मन्त्रीपरिषद विस्तार गरे । मन्त्रीपरिषद विस्तारसंगै १६ नवनियुक्त मन्त्रीले शपथसंगै पदभार ग्रहण गरे । यस पटकको मन्त्रीपरिषद विस्तारमा धनुषाले पनि मन्त्री पायो । धनुषा निर्वाचन क्षेत्र नम्बर ४बाट प्रतिनिधिसभामा विजयी भएका रघुवीर महासेठले मन्त्री पद पाएका हुन् । एमाले उनकै नेतृत्वमा सरकारमा शामिल भएको छ । महासेठ उपप्रधानसहित भौतिक पूर्वाधार विकास मन्त्रालय पाएका छन् ।
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार मन्त्रालय पाएका महासेठ फेरी मन्त्रीमण्डलमा अटाएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली नजिकको नेताका रुपमा चिनिएका महासेठकै नेतृत्वमा सरकारमा शामिल हुनुले एमाले भित्र महासेठको बढ्दो कदलाई पुष्टी गर्छ ।
महासेठको राजनीतिक पारी शुरुमा त्यती प्रभावशाली नरहेपनि एक दशक भित्रै सांसद हुँदै उपप्रधानमन्त्रीसम्मको यात्रा तय गरेका थिए । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाटै राजनीति शुरु गरेपनि खासै सक्रियता भने राजनीतिमा महासेठको थिएन । पछि सीभिल इन्जिनियरिंगका लागि उनी भारतको राँचीस्थित बीआइटी कलेज पुगे । बीआइटी कलेजबाट इन्जिनियरिंगको अध्ययन सकाएर महासेठ जागिरका लागि इलाम पुगे । इलामममा भने उनी एमालेमा थोरबहुत राजनीतिमा सक्रिय भएका थिए ।
त्यहाँ उनी ईलाम एमालेको जिल्ला सचिव भएर समेत काम सम्हालेको एमाले धनुषाका नेताहरु बताउँछन् । ईलाममा एमालेको प्रभावशाली नेता झलनाथ खनालसंग उनको घनिष्ठता बढ्दै गयो । यद्यपि त्यो समयमा उनको नज्दिकी माधवकुमार नेपालसंग बढ्दै गईरहेको थियो । राजनीतिमा सक्रियता बढ्दै जान थालेपछि महासेठको जागिर नै धरापमा पर्ने सम्भावना बढ््दै गयो । पछि माधव नेपालको पैरवीको आधारमा महासेठलाई उदयपुर सिमेन्टको जीएम बनाइयो ।
उदयपुर सिमेन्टको जीएम बनेपछि नेपालको ठूलै धनाढ्य मध्येका एक उपेन्द्र महतोको बहिनी जुलीकुमारी महतोसंग विवाह भयो । घरमा जुलीको आगमनसंग उनको राजनीतिक कैरियरले विस्तारै भएपनि उडान लिन शुरु गरि सकेको थियो । उदयपुर सिमेन्टको जीएम पदबाट हटेसंगै महासेठले एमालेको सक्रिय राजनीतिलाई तीव्रता दिन थाले । एमालेको राजनीतिमा सक्रिय भएका महासेठ पार्टी भित्रै कित्ता परिवर्तन गरेका थिए । उनी माधव नेपालको साटो वामदेव गौतमको विश्वास पात्रको रुपमा एमाले भित्र आफूलाई स्थापित गर्न सफल भए ।
महासेठ वि.सं. २०५४ सालमा एमालेमा विभाजन हुँदा मालेको केन्द्रीय सदस्य समेत बनेका थिए । एमालेको २०५९ सालको सातौं महाधिवेशनबाट महासेठ केन्द्रीय सदस्य बने । आठौं महाधिवेशनमा भने उनी केन्द्रीय सदस्य पदमा पराजित भएका थिए । त्यो समयमा उनी ओली इतरको समुहको नजिक थिए ।
लामो समयसम्म एमाले भित्र वामदेव गौतमको विश्वास पात्रको रुपमा रहेका महासेठ २०७१ मा सम्पन्न एमालेको नवौँ महाधिवेशनमा सचिव पदका उम्मेदवार बने तर पराजित भए । पछी महासेठ केपी शर्मा ओलीको नजिक हुन पुगे । केपी शर्मा ओलीको प्यानलबाट सचिव लडेका महासेठ केन्द्रीय सदस्य पदमा समेत जीत निकाल्न सकेनन् ।
एमालेमा पदाधिकारीको उम्मेदवार हुनेले केन्द्रीय सदस्यमा समेत लड्न पाउने व्यवस्था छ । यदि, पदाधिकारी पराजित भए केन्द्रीय कमिटीबाट नबाहिरिउन् भन्ने उद्देश्यसहित दोहोरो उम्मेदवारीको व्यवस्था गरिएको थियो । तर महासेठ दुवै पदबाट पराजित भएका थिए ।
तर असलमा महासेठ एमाले भित्र ओली नजिक पुगेपछि मात्रै राजनीतिमा सफलता पाउन थाले । महासेठले पहिलो पटक नेपालको ईतिहासमा वि.सं. २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नम्बर ४बाट चुनाव लडे । तर उनी पराजित भए । पछि धनुषा निर्वाचन क्षेत्र नम्बर ५बाट निर्वाचित भएका डा. रामवरण यादव नेपालको प्रथम राष्ट्रपति भएपछि धनुषा निर्वाचन क्षेत्र नम्बर ५मा फेरी निर्वाचन भयो । जहाँ महासेठ पहिलो पटक निर्वाचित भएर संसदसम्मको यात्रा तय गरे ।
सांसद बने लगत्तै झलनाथ खनाल नेतृत्वको सरकारमा २०६७ साल फागुन १ गते पहिलो पटक नेपाल सरकारको मन्त्रीमण्डलमा स्थान पाए । उनलाई सिँचाई मन्त्रीको जिम्मेबारी दिइएको थियो । महासेठको सिँचाई मन्त्रालयको कार्यकाल ६ महिनाससम्म मात्रै टिक्यो । संविधान जारी भएपछि २०७४ सालमा भएको निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नम्बर ५बाटै नेपाली कांग्रेसका नेता आनन्द ढुंगानालाई पराजित गर्दै विजयी भए । निर्वाचनपछि ओली नेतृत्वको सरकार गठन हुँदा महासेठलाई २०७४ चैत २ गते भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेबारी दिइएको थियो ।