एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २३ : एका समय हालको मधेशको क्षेत्र देशको पहाडी जिल्लाका गुरु थिए । गुरु भन्नाले पहाडमा गएर पढाउने गणीत, अंग्रेजी र विज्ञानका शिक्षकहरु अधिकांश मधेशीनै हुन्थे । तर आज परिवेश फरक छ । मधेशमा न त शिक्षा नै छ न त शिक्षक पेशा प्रतिको रुची नै । तर हामी शिक्षा भन्दा पनि स्वास्थ्यको कुरा गर्नेछौं ।
देशको राजधानी काठमाण्डौंका चर्चित अस्पतालहरुमा जानोस हरेक क्षेत्रको विज्ञ र अगुवा चिकित्सकहरुमा प्राय मधेशकै प्रतिनिधित्व हुन्छ । तर मधेशको स्वास्थ्यको अवस्था चिन्ताजनक छ । मधेशको राजधानीमा प्रादेशिक अस्पताल र संयौं निजी अस्पतालहरुको बिगबिगी निरन्तर विस्तारिदै छ तर गुणस्तरीयता दिनानुदिन खस्किदै छ ।
प्रादेश मातहतको जनकपुरधाम स्थित प्रादेशिक अस्पताल अझै पनि रेफर सेन्टरमै सिमित छ । केहि दिन अगाडि एक सञ्चारकर्मी समान्य कम रक्तचापका कारण विरामी भएर त्याहाँ पुग्दा पनि उनलाई धरान रेफर गरियो र त्यहाँवाट उनी निको भएर घर फर्किए । यो त समान्य उदाहरण मात्र हो, रिश्क किन लिने भन्दै चिकित्सकहरु सहजै विरामी बाहिर पठाइदिने केन्द्र बनेको छ यो अस्पताल ।

मधेशका स्वास्थ्य मन्त्री अचानक छडके गर्दा बिचौलीया पक्राउ देखि आपतकालिन विभागमा रात्री चिकित्सकको अनुपस्थिती र अभाव पनि मुख्य समस्या नै हो । मधेश सरकारको गठन पछि उपकरण र भौतीक संरचनामा सुधार हुदै गएपनि दक्ष चिकित्सकको अभाव र गुणस्तरीय प्रभावकारी सेवा दिन नसकेको आरोप अस्पतालले खेपिरहेकै छ ।
केहि दिन अगाडि मात्र देशैभरिका चिकित्सकहरुका लागि मधेश प्रदेशका मुखिया मुख्यमन्त्री सरोज कुमार यादव एक कार्यक्रममा सहभागि भए । नेपाल चिकित्सक संघ जनकपुर अञ्चल कमिटीले ७४ औँ नेपाल चिकित्सक दिवसको अवसर पारेर गरेको मधेश हेल्थ समिटमा मुख्यमन्त्री यादवले मधेशलाई स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनको हब बनाउने उद्देश्य लिएको त बताए तर उनको यो भाषण र त्यसको निरन्तरता मात्र थियो ।
उहाँले स्वास्थ्य सेवामा सुधारका लागि प्रत्येक जिल्लामा मेडिकल कलेज स्थापना गर्ने गरी काम अगाडि बढाएको, जिल्ला अस्पतालहरूको स्तरोन्नती गर्ने काम भइरहेको उनको दावी थियो । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले सबै जना एक ढिक्का भएर मधेश प्रदेशलाई स्वस्थ र शिक्षित बनाउनुपर्ने बताए । मधेशलाई समृद्ध बनाउन अब सकैले नरोकेको भन्दै सबैले आ–आफ्नो क्षेत्रबाट योगदान दिनुपर्ने उहाँको भनाइ थियो । तर यस्ता भनाईहरु कार्यक्रमको पोडियममा गरिने भाषणमै सिमित हुनेगरेको छ ।

कार्यक्रममा सहभागी चिकित्सहरुले मधेशको दक्ष जनशक्तिहरु प्रादेशिक संरचना पछि पनि मधेशमा आकर्षित नहुनु र मधेश सरकारले त्यस्तो वातावरण बनाउन नसक्नु दुःखद रहेको बताए । सम्भावना प्रचुर छ तर अझै पनि मधेश बाहिर काम गरिरहेका त्यस्ता विज्ञ चिकित्सकहरु मधेश आउन नमान्नुमा चिकित्सकको भन्दा पनि राज्य र मधेश सरकारले त्यस हिसावको वातावरण बनाउन नसक्नु नै मुख्य कारण रहेको उनीहरुले बताए ।
सरकारहरुसंगको समन्वय र सहकार्यको अभावमा काम गर्न नसकिरहेको दावी गर्दै उनीहरुले यसो हेर्दा मधेशको जलेश्वर र मलंगवा भन्दा आफुहरुलाई लस एन्जलस शहरनै नजिक महशुस भइरहेको बताए ।
सो क्रममा वक्ताहरुले मधेशको जनसंख्याको चाप, विकासको दर र प्रतिव्यक्ति आय, समस्या र जटिलताको हिसावले स्वास्थ्यमा बजेट बिनियोजन हुन नसकेको बताए । गैर सरकारी संस्थाहरुले मधेशको स्वास्थ्य क्षेत्रमा प्रत्येक वर्ष ५ अर्वको बजेट खर्च गर्छन तर त्यो बजेट मधेश सरकार मातहतको निकाय मार्फत सदुपयोगको निती किन बन्न सकिरहेको छैन ? उनीहरुको प्रश्न थियो ।

सो अवसरमा विभिन्न क्षेत्रका अगुवा चिकित्सकहरुले मधेशको स्वास्थ्य क्षेत्रको वर्तमान अवस्था, भइरहेका कामको अवस्था बारे कार्यपत्र प्रस्तुत गरेका थिए भने स्वास्थ्य क्षेत्रको सुधारका लागि थप गर्नुपर्ने कामलगायत विषयमा धारणा राखेका थिए । सो अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोद यादव, नेपाल चिकित्सक संघ, मधेश प्रदेशका संयोजक डा. निरज सिंह, नेपाल चिकित्सक संघ जनकपुरधामका अध्यक्ष डा. रामजी यादव, नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष अनिल विक्रम कार्की, साइन्टिफिक कमिटीका चेयरपर्सन डा. जय नारायण साह, नेपाल चिकित्सक संघ जनकपुरधामका सचिव डा.रामज्ञान यादव सहितकाले आ आफनो धारणा राखेका थिए ।
समाजका लागि चिकित्सक र चिकित्सका लागि समाज भन्ने नाराका साथ भएको यो कार्यक्रमले मधेश प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधारका लागि नीति तथा योजना पु¥याउन सहयोग पुग्ने पनि सहभागीहरूले बताएका थिए । मधेस प्रदेशको वर्तमान स्वास्थ्यको स्थिति र स्वास्थ्यको सूचकांक सुधारका लागि आगामी योजनाका विषयमा बृहत छलफल गरिएको थियो । कार्यक्रममा प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख डाक्टर श्रवण मिश्र, जनकपुरधाम प्रादेशिक अस्पतालका मेसु डाक्टर रामनरेश पण्डित, संघका जनकपुर अञ्चलका कोषाध्यक्ष डा. राजेश साहलगायत चिकित्सकहरू सहभागी भएका थिए ।