एसपी रिपोर्टर
काठमाण्डौं, फागुन २१ : सत्तारुढ गठबन्धनमा खटपट सुरु भएको बेलामा प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धनमा आवद्ध दलहरुको बैठक बोलाएको भएपनि अन्तिम समयमा स्थगित गरेका छन् । बैठक बिहान ८ बजे बस्ने जनाइएको थियो तर बैठक स्थगित भएको एक नेताले बताए । उता एमाले अध्यक्ष केपि शर्मा ओली निवास बालकोटमा सचिवालय बैठक सुरु भएको छ ।
बालकोटमा केहि वेरमै माओवादीका देव गुरुङ्ग, रास्वपाका रवि लामिक्षाने र जसपा अध्यक्ष उपेन्द्र यादव पुग्न लागेको बालकोट स्रोतले जनाएको छ । स्रोतका अनुसार कांग्रेस र नेकपा एसलाई बाहिर गरेर एमाले र रास्वपाको सहयोगमा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार बनाउने गृहकार्य सुरु गरेको छ ।
राष्ट्रियसभाको अध्यक्षको निर्वाचन र मन्त्री परिषद पुर्नगठनमा प्रचण्ड र देउवा बिच खटपट भएपछि सत्तारुढ गठबन्धन भत्किन लागेको चर्चा छ । राष्ट्रियसभा अध्यक्ष आफुले पाउनुपर्ने र कांग्रेसले अर्थ तथा स्वास्थ्य मन्त्री हटाउनुपर्ने माओवादीको मांगमा विवाद भएको बुझिन्छ । त्यसपछि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष दाहालले एमालेसँग समानान्तर छलफल चलाएका थिए ।
सहमती भए एमाले, माओवादी, रास्वपा र जसपा गरि १ सय ५७ सांसदको समर्थनमा नयाँ सरकार बन्ने छ जस्मा एमाले, रास्वपालाई उपप्रधान तथा गृह र जसपालाई पनि उपप्रधान गरि तिन उपप्रधान सहितको भागबण्डा भइरहेको छ । लोसपालाई पनि प्रधानमन्त्रीले समेटन खोजेपनि जसपाले लोसपा र जनमत भए आफु आउन नसक्ने सर्त राखेको बताइन्छ ।