एसपी रिपोर्टर
काठमाण्डौं, फागुन २० : सत्तारुढ गठबन्धनमा खटपट सुरु भएको बेलामा प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धनमा आवद्ध दलहरुको बैठक बोलाएका छन् । बैठक बिहान ८ बजे बस्ने जनाईएको छ । राष्ट्रियसभाको अध्यक्षको लागि २९ फागनुमा हुने निर्वाचनमा उम्मेद्वार टुँगो लगाउने विषयमा कांग्रेस र माओवादी केन्द्रबीच खटपट सुरु भएको छ ।
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष दाहालले एमालेसँग समानान्तर छलफल चलाएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली महासचिव शंकर पोखरेल लिएर बालुवाटार पुगेका छन् । रास्वपा अध्यक्ष रवि लामिक्षाने पनि त्यसमा मिसिएको बताइन्छ ।
एता कांग्रेस सभापति शेरबहादुर देउवाले पनि सरकारमा सहभागी आफ्ना दलका मन्त्रीहरुसँग छलफल गरेका छन् । सत्ता गठबन्धन रहने वा नरहने कुरा भोलि टुँगो लाग्ने चर्चा छ । यसलाई थप बल प्रदान गर्ने अर्को घटना समेत भएको छ
सत्ता गठबन्धनमा गम्भीर समस्या उत्पन्न भएपछि परराष्ट्रमन्त्री एनपी साउदको फिनल्यान्ड भ्रमण आकस्मिक रुपमा स्थगित् भएको छ । फिनल्यान्डको राजधानी हेल्सिन्कीमा आयोजना हुने ‘सेकेन्ड यूएन एलडीसी फ्युचर फोरम’ मा सहभागी हुन मन्त्री साउद आज (आइतबार) राति त्यसतर्फ जाने कार्यक्रम थियो ।
तर, प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनपछि उनको भ्रमण रोकिएको छ । मन्त्री साउदले यसमा आफ्नो अपमान भएको महशुस गरेका छन् । राष्ट्रियसभाको अध्यक्षको निर्वाचनको मुखमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन टुट्ने चर्चा छ ।
प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सत्ता सहकार्यको लागि नयाँ ढंगले छलफल चलाएका छन् । मन्त्री साउदको नियती पुष १० गते बनेको एमाले माओवादी गठबन्धनको सरकार हुँदाको परराष्ट्र मन्त्री विमला राई पौड्यालको जस्तै भएको छ ।
प्रधानमन्त्री दाहालले एमालेको साथ छोडेर कांग्रेससहितको गठबन्धन बनाउन लाग्दा विमला पौड्यालको जेनेभा भ्रमण साउदकै जसरी स्थगित भएको थियो । प्रधानमन्त्री दाहालले अन्तिम समयमा पौड्यालको भ्रमण रोकिदिएका थिए ।
साँझ ६ बजेको फ्लाईट थियो । तर, प्रधानमन्त्री दाहालले दिउँसो साढे तीन बजेतिर फोरन गरेर पौड्यालको भ्रमण रोकिदिएका थिए । ठिक एक वर्षपछि अहिले त्यस्तै घट्ना घटेको छ । त्यो पनि कांग्रेस माओवादी गठबन्धन टुट्ने हल्लाको बीचमा ।