एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १३ : मदन भण्डारी स्पोर्ट्स एकेडमीको आयोजनामा धनुषाको क्षिरेश्वर नगरपालिकामा प्रथम मदन भण्डारी राष्ट्रिय महिला हक्की प्रतियोगिता हुन लागेको छ । सोमबारबाट शुरु हुन लागेको प्रथम राष्ट्रिय महिला हक्की प्रतियोगितामा कूल ८ वटा राष्ट्रिय स्तरको टिमको सहभागिता रहने छ ।
प्रतियोगितामा कर्णाली बाहेक ६ प्रदेशको टिमहरु, नेपाल सेना तथा आयोजक संस्था मदन भण्डारी स्पोर्टस् एकेडेमीका गरेर ८ टिमले सहभागिता जनाउने छ । प्रतियोगितामा १ सय ४४ जना महिला हक्की खेलाडीहरु सहभागी हुने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए । फागुन १९ गतेसम्म चल्ने प्रतियोगिताको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए ।
प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५० हजार र कप, द्वितीय हुनेलाई कप सहित १ लाख र तृतीय हुने टिमलाई कप सहित ५० हजार नगद प्रदान गर्ने कार्यक्रम रहेको एकेडेमीका अध्यक्ष आचार्यले जानकारी दिए ।
त्यस्तै, उत्कृष्ट खेलाडीलाई १० हजार र प्लेयर अफ दी म्याच हुनेलाई ५ हजार नगद प्रदान गरिने छ । तत्कालिन समयमा धनुषामा हक्कीको आठ दश जना राष्ट्रिय खेलाडीहरु रहेकाले पुनः धनुषामा सो खेल प्रतिको आकर्षण बढाउन प्रतियोगिता धनुषामा आयोजना गरिएको बताइएको छ ।