एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १३ : जनकपुरधाम स्थित अखबारका प्रकाशकहरुको संस्था प्रकाशक महासंघ नेपालले विभिन्न ५ बुँदे माग राख्दै मधेसका मुख्यमन्त्री सहितकालाई ज्ञापन पत्र बुझाएको छ । संघले मुख्यमन्त्री सरोज कुमार यादवका आलावा मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल, मधेश आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव र गृह तथा सञ्चार मन्त्रालयका उपसचिवलाई पनि ज्ञापन पत्र बुझाएको छ ।
मुलुककै अर्थतन्त्र कमजोर रहेको समयमा संचारमाध्यमहरुको अवस्था समेत जर्जर भईरहेको भन्दै प्रदेश सरकारले मिडियाको संरक्षण सम्बद्र्धन तर्फ ध्यान पुर्याउनु पर्ने माग गर्दै महासंघले मधेसका मुख्यमन्त्री सरोजकुमार यादवलाई ज्ञापन पत्र बुझाएको हो । महासंघका अध्यक्ष शंकर साहको नेतृत्वमा प्रेस स्वतन्त्रता सेनानी अशोक रौनियार सहित गएको एक टोलीले विभिन्न ५ बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएको थियो ।
मिडियाको अवस्था जर्जर भईरहेको समयमा सरकारबाटै लोक कल्याणकारी विज्ञापनको बजेट कटौती गर्नु संघियताको मर्म विपरित रहेको महासंघको ज्ञापन पत्रमा उल्लेख छ । महासंघले लोककल्याणकारी विज्ञापनको रकम यथाशिघ्र निकासा गरी विज्ञापन वितरण गर्न, विगतको वर्षमा उपलब्ध गराइएका लोक कल्याणकारी विज्ञापनमा रकम कटौती नगर्न मांग गरेको छ ।
साथै प्रदेश सरकार अन्तर्गतका विज्ञापनहरु सबै सञ्चारमाध्यमलाई एकद्वार, चक्रीय र समानुपातिक ढंगबाट वितरण गर्नुपर्ने, संघीय सरकारद्वारा संचालित पत्र–पत्रिका र सञ्चारमाध्यमहरुलाई प्रदेश सरकारबाट पनि विज्ञापन दिनु संघीय परिकल्पनाको विपरित र प्रदेशका सञ्चारमाध्यमलाई समाप्त पार्ने षड्यन्त्र रहेकाले यस्ता विज्ञापनहरु बन्द गरी सो विज्ञापन स्थानीय नियमित सञ्चारमाध्यमहरुलाई वितरण गर्नुपर्ने लगायतका मागहरु ज्ञापन पत्रमा उल्लेख छ । महासंघले ज्ञापन पत्र मार्फत उठाएका मागहरु फागुन मसान्त भित्र सम्बोधन नगरिए संघर्षमा उत्रिन बाध्य हुने चेतावनी समेत दिइएको छ ।