एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ११ : जनकपुर साहित्य महोत्सवको दोस्रो दिन पनि विभिन्न विषयमा चर्चा परिचर्चा गरिएको छ । महोत्सवको दोस्रो दिन मधेसमा अपराध नियमन नियन्त्रण र न्युनीकरण, कसरी हुन्छ निर्णय ?, नव उद्यमी र उद्यमशिलता, चलु जनकपुर, माटोको मायाले मलाई मेरो ठाउँमा तान्यो लगायतका शिर्षकमा चर्चा परिचर्चा गरिएको हो ।

मधेसमा अपराध नियमन नियन्त्रण र न्युनीकरण शिर्षकमा गरिएको चर्चा परिचर्चामा मधेसमा पछिल्लो समय बढ्दै गईरहेको अपराधप्रति चिन्ता व्यक्त गरिएको थियो । यसका साथै सो सत्रमा पछिल्लो समयमा मधेसमा अपराधको श्रृंखला बढ्दै जानुको कारण खोतल्ने प्रयास गरिएको थियो । त्यस्तै चलु जनकपुर शिर्षकमा जनकपुरधामको पर्यटनलाई कसरी माथी उठाउन सकिन्छ भन्ने विषयमा चर्चा परिचर्चा गरिएको थियो ।

महोत्सवको दोस्रो दिन अन्तर विद्यालय कला प्रतियोगिता समेत सम्पन्न भएको थियो भने सांगितिक प्रस्तुतीका साथै विभिन्न गतिविधी सहित दोस्रो दिनका कार्यक्रमहरु सम्पन्न भएको छ । तिन दिन अर्थात शनिवार सम्म चल्ने महोत्सवको पाँचौ संस्करण यस वर्ष राम मिन्दरको प्राङ्गणमा आयोजना गरिएको छ ।