एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ९ :
जनकपुरधाममा बिहिबारदेखि जनकपुर साहित्य महोत्सवको ५औँ संस्करणको आरम्भ औपचारिक रुपमा भएको छ । नव मिथिला फाउण्डेसनको आयोजनामा शुरु भएको महोत्सवको उदघाटन मैथिलीका बरिष्ठ साहित्यकार डा. राजेन्द्र प्रसाद विमल र राम मन्दिरका महन्थ राम गिरीले संयुक्त रुपमा गरेका हुन् ।
३ दिनसम्म चल्ने महोत्सवको पहिलो दिन रंगशाला चाही शिर्षकमा विचार विमर्ष भएको छ । त्यस्तै विभिन्न विद्यालयहरुका विद्यार्थीहरुको सहभागितामा कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । महोत्सवमा समाज, भाषा, संस्कृति, साहित्य, राजनीति लगायतको विषयमा फागुन १२ गतेसम्म विचार विमर्श हुनेछ ।
महोत्सवको उदघाटन सत्रमा प्रमुख अतिथिको आसनबाट साहित्यकार विमलले आफ्नो मन्तव्य राखेका थिए भने पहिलो दिन कि नोटको रुपमा साहित्यकार रोशन जनकपुरीले बोलेका थिए ।
महोत्सवमा किताब उपर समीक्षा, कसरी हुन्छ निर्णय ?, नव उद्यमी र उद्यमशीलता, स्वस्थ मधेश, सम्पदा, संस्कार र साहित्य, शिक्षाको नयाँ आवश्यकता र परिभाषा, मधेशको श्रम यात्रा, बोल्ने स्वतन्त्रता, ‘साँस्कृतिक सम्बन्धको डोरी, मौन चित्कार र संघीयता गलत अभ्यास वा कमजोर परिकल्पना’ जस्ता १४ वटा शीर्षकमा विमर्श हुने आयोजक नवमिथिला फाउन्डेसनका अध्यक्ष अमित साहले बताए ।
महोत्सवमा किताबको लोकार्पण, स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुतिसँगै विद्यार्थी, राजनीतिज्ञ, कलाकार, संगीतकार, लेखक, पत्रकार र साहित्यप्रेमीहरुको उपस्थिति रहेको थियो ।
यता महानन्द साहित्य साधक सम्मानबाट जनकपुर साहित्य महोत्सवको मञ्चबाटै यस वर्ष साहित्यकार विमललाई प्रदान गरिएको छ । महानन्द साहित्य साधक सम्मान गुठीका संयोजक विप्लव प्रतिकले उनलाई नगद ५० हजार तथा ताम्रपत्र सहित पुरस्कृत गरिएको हो ।
त्यस्तै सोही मञ्चबाट अमित झा साहित्य संगित अवार्ड तेतरियाका दीपन महरा समूहलाई प्रदान गरिएको छ । लोपोन्मुख बाद्यय यन्त्र बजाउने धनुषाको तेतरियाका सो टिमलाई पुरस्कृत गरिएको आयोजक नव मिथिला फाउण्डेसनले जनाएको छ । पुरस्कारमा एक लाख ५ हजार नगद राशी रहेको थियो ।