एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ९ : जनकपुरधामको पर्यटन प्रवद्र्वन गर्ने र आन्तिरक तथा बाहिरी पर्यटकलाई जनकपुरधाम ल्याउन अभिप्रेरित गर्ने उद्देश्यले “भिजिट जनकपुरधाम २०२४” अभियान सञ्चालन गरिएको छ । अभियानका संयोजक जनकपुरधाम उद्योग बाणिज्य संघका उपाध्यक्ष समेत रहेका अम्भु प्रसाद साहले एक पत्रकार सम्मेलनको आयोजना गरि आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अभियान चलाइएको जस्मा नेपालको विभिन्न मुख्य शहर देखि भारतको आयोध्या सहित हिन्दु धार्मिक तथा पर्यटनको केन्द्रका रुपमा रहेको शहरहरुमा अन्तरक्रिया गर्ने सहितका कार्यक्रम सार्वजानिक गरेका छन् ।
अभियान अन्तर्गत विभिन्न प्रकारका विचार गोष्ठी, विभिन्न ठाउँको भ्रमण, बाहिरबाट आएका पर्यटकहरूलाई जनकपुरधाममा स्वागत गर्ने, पर्यटकहरूसँग सुमधुर व्यवहार गर्ने, नयाँ नयाँ ठाउँको विकास तथा सौन्दर्यीकरण गर्ने लगायतका कार्यक्रम रहेको साहले जानकारी दिनुभयो । साथै यस वर्ष भरि अभियान चलुन्जेल सम्म जनकपुरधामको होटलहरुमा पर्यटकका लागि २० प्रतिशत सहुलियतका लागि समेत पहल भइरहेको उनले बताए ।
होटल व्यवसायीहरु संग समेत छलफल र विमर्श गरि आउने पर्यटकहरुलाई कसरी हदै सम्मको सुविधा दिन सकिन्छ भन्ने विषयमा छलफल हुने समेत उनले बताए । पत्रकार सम्मेलनमा उपस्थित जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले जनकपुरधामको सरसफाई तथा पर्यटकीय स्थलको सौन्दर्यीकरणलाई उपमहानगरपालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको बताए । जनकपुरधामको विकास र धार्मिक आकर्षण बढाउन गुठी बाधक रहेको बताउदै उनले आफु प्रयत्नशिल रहेको बताए ।