एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ८ : सोमवार प्रजातन्त्र दिवसको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. २३ मा एक कार्यक्रमको आयोजना गरिएको थियो । दिवसको अवसरमा वरिष्ठ पत्रकार स्व. राजेश्वर नेपालीले गर्दै आएको कार्यक्रमको निरन्तरता दिन उनका सुपुत्र वडा अध्यक्ष समेत रहेका राघवेन्द्र साहले एक कार्यक्रमको आयोजना गरे र विषय तोके ‘प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र र भ्रष्टतन्त्र ?’ ।
कार्यक्रमको प्रमुख अतिथि प्रदेश प्रमुख हरिशंकर मिश्रलाई बनाइएको थियो । प्रमुख अतिथिका लागि पत्राचार गरि आमन्त्रण पठाइएको र आमन्त्रण स्वीकार समेत भइसकेको थियो । तर जब कार्यक्रमको शिर्षक सहितको आमन्त्रण कार्ड पनि प्रदेश प्रमुख समक्ष पुग्यो अनि प्रदेश प्रमुख कार्यक्रममा आउन मानेनन् । भ्रष्टतन्त्र पछि प्रश्नवाचक चिन्ह पनि छ नि ? भनेर समझाउँदा समेत प्रदेश प्रमुख आउन नमानेको आयोजक मध्येका एकले बताए
कार्यक्रममा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल समेत आमन्त्रित थिए । पछि उनीनै प्रमुख अतिथि तोकिए । कार्यक्रममा सभामुख मण्डलले पहिला भन्दा गणतन्त्र र संघियता पछि देशमा धेरै विकास र पहुँचमा जनतालाई सहजता भएको बताउदै यति छिट्टै नधरफराउन आग्रह गरे । वक्ताहरु एमालेका प्रतिनिधी र प्रदेशसभा सदस्य क्रमश जुली महतो र दिपेन्द्र ठाकुरले जनप्रतिनिधी सर्वहित भन्दा व्यक्तिगत हित तर्फ केन्द्रित भएकाले व्यवस्था प्रति जनताको दुरभावना बढन थालेको बताए । सो अवसरमा सम्मानित समेत भएका प्रदेश सांसद ठाकुरले चुनावमा टिकट दिनु भन्दा अगाडि पैसा कति छ ? भन्ने प्रश्नको सामना गर्नुपर्ने अवस्था रहेको बताए ।
वडा अध्यक्ष साह, वरिष्ठ पत्रकार सिताराम अग्रहरी र नागरिक अगुवा अमरचन्द्र अनिलले भ्रष्टाचारको शिर्षकमा बोेल्न पनि डराउने हो भने कहिल्यै अन्त्य नहुने बताउदै खुलेर विरोध गर्नुपर्ने बताए । सो अवसरमा विभिन्न क्षेत्रका अगुवा वक्ताहरुले स्व. राजेश्वर नेपालीले प्रजातन्त्रको लागि खेलेको भुमिकाको प्रशंसा गरेका थिए ।