एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ७ :
नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले देशभरीका सडकलाई खाल्डाखुल्डी मुक्त बनाउनु आवश्यक रहेको बताउनु भएको छ ।
समाजवादी ईन्जिनियरिङ्ग एसोसिएसन नेपाल मधेसले आयोजना गरेको मधेस प्रदेश अन्तर्गतका सडक सञ्जाल एवं सुरक्षा समबन्धी अन्तरकृया कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपालले सडक खाल्डाखुल्डी मुक्त भए मात्रै दुर्घटना न्यूनीकरण गर्न सकिने बताउनु भयो । उहाँले पछिल्लो समय मुलुकमा बढ्दै गईरहेको दुर्घटनाको मूल कारण सडक तथा चालकको लापरवाही रहेको स्पष्ट पार्नु भयो । बाहिरबाट आउने पर्यटकहरुमा समेत सडकको दुर्दशाले गलत मैसेज गईरहेकाले नयाँ सडक निर्माणभन्दा सडकहरुको मरम्मत तर्फ ध्यान पुर्याउनु आवश्यक रहेको उहाँको भनाई थियो ।
पूर्व प्रधानमन्त्री नेपालले मुलुकमा बिना योजना अनावश्यक रुपमा सडक निर्माण भईरहेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले सडक तथा हवाई मार्ग निर्माणको नाममा प्राकृतिक सम्पदाको दोहन गर्नु उचित नरहेको टिप्पणी गर्नुभयो । मदन भण्डारी राजमार्ग तर्फ ईंगित गर्दै पूर्व प्रधानमन्त्री नेपालले राजमार्ग निर्माण हुनु विकासकालागि ठीकै हो तर मधेसको लाइफलाइनको रुपमा रहेको चुरे भएर सो सडक निर्माणको आवश्यक्ता रहे नरहेको विषयमा गम्भिर छलफलको आवश्यक्ता रहेको बताउनु भयो ।
उहाँले गुणस्तरहिन सडक बनाएर राज्यको ढुकुटीको दोहन गर्ने ठेक्केदारलाई कारबाही हुनुपर्नेमा समेत जोड दिए ।