एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ६ : मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले तेस्रो पटक बिश्वासको मत पाएका छन् । आइतवारको प्रदेशसभामा उपस्थित कुल १ सय ४ सांसदहरु मध्ये मुख्यमन्त्री यादवको पक्षमा ६९ सांसद उभिएका छन् । विपक्षमा कुल ३५ सांसद पुगेका छन् । दोस्रो पटक सम्म बिश्वासको मत लिदै गर्दा मुख्यमन्त्रीलाई प्रदेशसभाको कुल सांसद सबैको समर्थन रहेको थियो । विपक्षमा कोहि पनि थिएन ।
गठबन्धन आवद्व ९ दल मध्ये जनमत पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले एक वर्षे कार्यकालमा आइतवार तेस्रो पटक बिश्वासको मत लिनु परयो । मुख्यमन्त्री यादवले नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा (२) बमोजिम बिश्वासको मत पाँउ भनि राखेको प्रस्तावमा बोल्दै प्रदेशको पहिलो तथा प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता सरोज यादवले गठबन्धनमा रहेका दलहरु मुटु माथी ढुङ्गा राखि हास्नु परेको स्थितीमा रहेको टिप्पनी गरे ।

उनले यथास्थितीलाई अस्वीकार गर्ने हिम्मत गरेको भन्दै जनमत पार्टीलाई धन्यवाद दिए । उनले मधेश सरकार मुख्यमन्त्री भन्दा अरु कसैले सरकार चलाइरहेको आभाष भइरहेको पनि आरोप लगाए । यद्यपि उनले मुख्यमन्त्री ईमान्दार व्यक्तित्व रहेको पनि बताए । गठबन्धनकारी र राष्ट्रिय गठबन्धनको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका नेता कृष्ण यादवले वर्तमान सरकारको कामकारवाहीवाट आफुहरु खुसी नरहेको बताए । छ वर्षको जसपा नेतृत्वको सरकारवाट मधेशी जनता खुसी छैनन हामी पनि खुसी छैनौं उनले टिप्पनी गरे ।
अन्य पार्टीका नेताहरुले पनि मधेश सरकारको कार्यसम्पादन कमजोर हुँदा जनताको असन्तु्ष्टि मात्र नभई संघियता खतरा तर्फ गइरहेको भन्दै असन्तुष्टि पोखेका छन् । दलका नेताहरुवाट उठेका प्रश्नहरुको जवाफ दिदै मुख्यमन्त्री यादवले मन्त्री हुँदा सबै ठिक र नहुँदा बेठिक जस्ता कुरा नगर्न एमाले र जनमत पार्टीका नेताहरुलाई आग्रह गरे । मैले कुन मन्त्रीलाई काम नगर्नोस भनेको छु ? कुन मन्त्री संग योजना बारे बुझन खोजेको छु ? कुन मन्त्री संग पैसा मागेको छु भन्दै संसदमै प्रश्न गरे ।

बैठकको प्रारम्भमा जनमत पार्टीले मुख्यमन्त्रीको उपस्थितीमै सप्तरीको राजविराजमा कृषि बिश्वविद्यालयको शिलान्यास कार्यक्रममा सहउपकुलपति समेत रहेका शिक्षामन्त्री माथी संघातिक आक्रमण भएको भन्दै मुख्यमन्त्रीको जवाफ र माफी खोज्दै बैठक १० मिनेट अवरुद्व पारेका थिए । मुख्यमन्त्रीले अगामि बैठकमा जवाफ दिने सहमती जनाएपछि बैठक अगाडि बढेको थियो ।