एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १ : लोसपाको बैठक जान छोडेको पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो देशको विभिन्न शहरहरुमा सक्रिय हुन थालेका छन् । यसै क्रममा पुर्व उपप्रधान मन्त्री समेत रहेका नेता महतो मंगलवार जनकपुरधाममा भलाकुसारीमा देखिए ।
जनकपुरधामको एक धर्मशालामा पुर्व सदभावनाकर्मी, जनकपुरधामका अग्रज, अनुभवि र युवा अगुवाहरुलाई बोलाएर महतोले परिचय पुर्नताजा गर्नुका साथैै छलफल गरेका छन् । उनी नयाँ पार्टीको गठन पक्रियामा लागेको हल्ला पनि नचलेको होइन ।

उपप्रधानमन्त्री भइसकेका राजेन्द्र महतोका पुर्व नेता, कार्यक्रता र शुभचिन्तकहरुले अव अभिभावकिय भुमिकामा बसेर नयाँ शक्तिको नेतृत्व गर्न र नयाँ युवा पुस्ताका माध्यमले मधेशमा काम गर्न सुझाव र दबाब दिइरहेका छन् । महतो काठमाण्डौंमा पनि छलफल र भेटघाटलाई तिव्रता दिइरहेका छन भने पुगेको शहरहरुमा पनि आफनो सक्रियता बढाएका छन् ।

मधेश आन्दोलनको क्रममा आफनो उर्जावान बोली र भाषणले युवालाई आकर्षित गरि चर्चा कमाएका महतो विराटनगरको नाकामा बसेर प्रहरीको आक्रमणमा परेपछि थप चर्चामा आएका थिए । तत्कालिन मधेश आन्दोलनको समयमा फोरमका अध्यक्ष उपेन्द्र यादवको एकल क्रेज रहेका बेला आफनो भाषण र बोलीले मधेशमा थप एक नेतृत्वकर्ताको रुपमा उदाएका महतो लोसपाको सुस्त पाराले दिक्क लागेर बैकल्पिक बाटो रोज्ने तयारी थालेको चर्चा भइरहेको छ ।