पुरन रौनियार
जनकपुरधाम, फागुन १ : आजको सन्दर्भ व्यक्ति हो ओझेलका पात्र गायक विनोद सादा । उनको परिचय उनको नामले मात्र प्रयाप्त रुपमा झल्किन नसक्ला । उनी मैथिली गायक हुन र उनले गाएका गितहरु अहिले हरेक धार्मिक अनुष्ठान, विवाह, उत्सव, महोत्सव सहितका आयोजनमा गुञ्जिने गरेका छन् । ति गितमा युवा जमात मात्र होइन हरेक उमेर समुहका व्यक्ति झुम्ने गर्छन ।
उनको सुप्रसिद्व गित ‘दुल्हिन बनल छै हमर सिता मईया’ यस्तो कुनै धार्मिक अनुष्ठान, बैबाहिक कार्यक्रम र आयोजन हुदैन जहाँ बज्दैन । युवाहरु झुम्न, नाच्नका लागि पनि यो गित बजाउछन् । उनको ‘धोती कुरता गम्छा पगडी हमर पहिचान छै’ भन्ने अलबेला अन्दाजमा गाएको यो गित अहिले हरेक तराई मधेशी र मैथिलीभाषीहरुको प्राथमिकतामा पर्ने गरेको छ र स्वाभिमान र पहिचान नै बनेको छ ।

यति मात्र होइन २०४१ साल माघ १० गते बर्दिवास वाड नं. १२ बिजलपुरा टोलमा जन्मेका मुस्हरका छोरा विनोदको ‘मिथिलाके मिठ बोली’, ‘मधेशके अप्पन माटी’ सहित करिव पाँच दर्जन मैथिली गितहरु रेकर्डिङ्ग भइसकेको छ । एसपीखवरसंग विनोदले भने, ‘म भोजपुरी पनि गाए तर कता गयो गयो मलाई मैथिली गितले पहिचान दिएपछि मैथिली बाहेक अरु सोच्दिन ।’
गत शनिवार जानकी सेना भन्ने युवाहरुको संस्थाले उनलाई जानकी मन्दिर प्राङ्गणमा आयोजित सम्मान समारोहको मञ्चमा सम्मान गरयो । बुवासंगै सो अवसरमा पुगेका उनी निकै भावुक र उत्साहित थिए । मेरो मनमा पक्कापक्की थियो बिचरा उनको यो पहिलो सम्मान नै होला । किनकी करिव १४ वर्ष अघि उनीसंगको भेटघाट र समान्य चिनजान र त्यसपछिको मेरो सक्रिय पत्रकारितामा उनलाई कुनै मञ्चमा सम्मान भएको मेरो आँखाले नदेखेको थियो न कसैवाट सुनेकै थिए ।

मेरो सोहि प्रश्नमा उनले सो कुरालाई पुष्टि गरे र उनको यो जिवनको पहिलो सम्मान रहेको सुनाए । जानकी सेनाका अशुतोष झाले धोती कुरता र दुल्हिन बनल छै हमर सिता मैयामा आफुहरु खुव नाच्ने गाउने र झुम्ने गरेको भएपनि गितका गायक को हो ? भन्ने सोँच आएपछि कदर गर्नैपर्छ भन्ने हिसावले सम्मान गरेको बताए ।
जानकी सेनाका अध्यक्ष स्वामी स्वराजले भने, ‘एक मुसहरको छोराको त्यो स्वर सबैका लागि प्रिय र अपनत्व सहितको छ तर कुनै मञ्चमा विनोद प्राथमिकतामा नपर्नु दुःखद हो ।’ सम्मान ग्रहण गर्न पहेलो धोती र रातो कुतार्मा जानकी मन्दिर पुगेका विनोदलाई दोसल्ला, पाग र कदरपत्र सहित सम्मान गरियो र उनको चर्चित गितहरु गाउन लगाइयो ।
बैण्डपार्टीमा काम गरेर जिविकोपार्जन गर्छन ‘विनोद’

जनकपुरधामकै एक चर्चित बैण्डपार्टीमा काम गर्छन विनोद । वाँकी समय मैथिली गितहरु छनौट गर्ने, गाउने र भिडियो बनाउने तर्फ उनी केन्द्रित हुन्छन् । करिव २० वर्ष अगाडि महोतरीको भंगहामा एकसय रुपैया पारिश्रमिकमा एक बैण्डपार्टीमा काम गर्न सुरु गरेका विनोदको गायकी प्रभावित बन्दै गएपछि १० वर्ष अगाडि उनी जनकपुरधाम सम्म तानिए र यहाँ काम गर्न थाले । हाल उनी न्यु जयनुल बैण्डपार्टीमा गायकको रुपमा आवद्व छन् ।
करिव पाँच वर्ष अगाडि उनको गायकीवाट प्रभावित उनको साथीभाईहरु ‘कलयुगके शिवभक्त’ मैथिली फिल्म बनाउने निधो गरि उनलाई सो फिल्ममा तिनवटा गित गाउन लगाए । कारणवस फिल्म त राम्रो हल पाएन तर फाटफुट विभिन्न माध्यमले देखाइयो ।
अनि विनोदको रेकर्डिङ्ग स्टुडियोको यात्रा प्रारम्भ भयो । उनलाई अहिले राम्रा मैथिली गितहरु गितकारहरुले अफर गर्न थालेका छन् । भोली हिन्दुहरुले विद्यादायनी माता श्री सरस्वतीको पुजा आराधना गर्ने दिन हो । सरस्वतीका प्रिय पात्र भएर पनि हराइरहेका कलाका साधक यस्ता ओझेलका पात्रहरुलाई समेत समाजले मञ्च र सम्मान दिन आवश्यक छ ।
