एसपी रिपोर्टर
जनकपुरधाम, माघ २३ : हजारौंको सहादत र बलिदानी पश्चात देश र जनताले पाएको विभिन्न राजनितिक उपलब्धी संस्थागत हुन नपाउदै पुनः पुरानै राजावादी शक्तिहरु देशमा सिक्रयता बढाउन थालेको भन्दै जनकपुरधामममा गणतन्त्र पक्षधर सर्वदलिय विज्ञप्ती जारी भएको छ । कुनै पनि हालतमा राजावादीहरुलाई मधेशमा हावी हुन नदिने चेतावनी सहित दलहरुले विज्ञप्ती जारी गरेको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले, तमलोपा, नेकपा एस, माओवादीका नेताहरुको हस्ताक्षर सहित जारी भएको विज्ञप्तीमा उपलब्धीका आन्दोलनहरुमा कुनै पनि सहभागिता र योगदान नभएकाहरु अव आफनो भविष्य र स्वार्थका लागि राजावादी बनेको भन्दै यस्ता गतिविधी निष्तेज गर्न सक्रिय हुन अपिल गरेको छ ।
स्मरण छ केहि महिना अगाडि मात्र जनकपुरधामको कर्भड हलमा सभा गरेको दुर्गा प्रसाई विहिवार बाह्रबिघ्घा रंगभुमि मैदानमा सभा गर्दैछ भने विभिन्न संघ संगठनहरु खुल्ले आम गणतन्त्र र संघियतालाई चुनौती दिदै राजतन्त्रको पक्षमा नारावाजी र विभिन्न गतिविधी जनकपुरधाममा बढाएपछि गणतन्त्रवादीहरुको यस्तो विज्ञप्ती आएको हो ।
विज्ञप्तीमा तमलोपाका अध्यक्ष वृशेषचन्द्र लाल, कांग्रेसका राम सरोज यादव, एमालेका राजकिशोर यादव, माओवादी क्रान्तिकारीका रोशन जनकपुरी, नेकपा एसका रामचन्द्र पण्डित, माओवादी केन्द्रका श्री नारायण प्रतिहस्त सहितकाले हस्ताक्षर गरेका छन् । हेर्नोस विज्ञप्ती
प्रेस विज्ञप्ति
जनताको लामो संघर्ष र अमर शहीदहरुको बलिदानले सामन्ती, निरंकूश, केन्द्रीकृत, एकात्मक राज्य व्यवस्था र त्यसको मूल केन्द्र निरंकूश राजशाहीको अन्त्य गर्दै नेपालका जनताले संघीय लोकतान्त्रिक गणतन्त्रको खुला आकाशमा नयाँ युगमा प्रवेश गरेका छन् । यसले जनताको सर्वोच्चता अर्थात् देश र राज्यको सम्पूर्ण शक्ति जनतामा निहित रहेको स्थापित भएको हो । जनता नै सर्वोच्च र सार्वभौमसत्ता सम्पन्न शक्ति हो । जनताको शक्ति कुनै व्यक्ति वा पेंचमा हुँदैन, रहन सक्दैन । मुलुक र माटो जनताको हो कसैको व्यक्तिगत आर्जेको सम्पत्ति होइन, हुन सक्दैन । त्यसैले गणतन्त्र, लोकतन्त्र र संघीयता हाम्रो प्राण हो । जनताको निमित्त संघर्ष नगरेका नहोमिएकाहरु यसको अर्थ र मूल्य बुझ्न सक्दैनन् । शहीदहरुको अमूल्य शहादत र जनताको निरन्तरको संघर्षले प्राप्त यस उपलब्धिको संरक्षण र सम्वर्द्धनको निमित्त गणतन्त्रवादीहरु कुनै पनि मूल्य चुकाउन सदैव तत्पर रहेको सबै प्रतिक्रान्तिवादी प्रतिक्रियावादीहरुलाई चेताउँदछौं । नेपालमा राजतन्त्रको इतिहास आतातायी, छलफलपूर्ण आक्रमण, जीउज्यान, इज्जत र सर्वस्व हरण, नाक–कान काट्ने, व्यक्तिगत अनुचित कारणले राज्यको शक्ति बन्धक–बिक्री गर्ने, जन–अधिकार र लोकतन्त्र खोस्ने, प्रतिगमन गर्ने , सत्तालिप्साको निमित्त मारकाट गरी वंश नै निर्मूल गर्ने र धर्म को आवरणमा सोझा–साझा जन साधारण लाई धूर्तता पूर्ण ढंग ले भ्रमित गरी निरंकुश राज गर्ने कुकृत्य ले भरिएको इतिहास हो । यस्तो व्यवस्था को वकालत गर्नेहरु कस्ता चरित्रका होलान् आफैं स्पष्ट हुन्छ । विगत केही दिनदेखि विभिन्न नाममा जनतालाई भ्रमित गर्दै केही प्रतिक्रान्तिवादी शक्तिहरु राजतन्त्र फर्काउने षड्यंत्र को व्यापार गर्दैछन् । जनताको सर्वोच्चता र संविधान को प्रस्तावना र त्यस्को अपरिवर्तनीय प्रावधान विपरीत, अराजकता फैलाउने तत्वहरुमाथि सरकार र प्रशासनको कारगर कारवाहीको आभावले आउने दिनहरुमा स्थिति अनियन्त्रित नहोस् भन्नेतिर सरकार र प्रशासनिक निकायहरुको ध्यानाकर्षण गर्दै यसका विरुद्ध सम्पूर्ण गणतन्त्रवादी बौद्धिकवर्ग, युवा, विद्यार्थी, मजदूर–किसान, व्यवसायी र नागरिक समाजका सबै अंगलाई आ–आफ्नो स्तरबाट सक्रियताका साथ अग्रसर हुन अपील गर्दछौं ।